पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि निरन्तर पहल
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । पर्यटन राजधानीका रूपमा रहेको पोखरास्थित यो विमानस्थल सञ्चालनमा ल्याउन सके पर्यटन प्रर्द्धनमा उल्लेख्य टेवा पुग्ने भन्दै यहाँका सरोकार भएकाहरूले निरन्तर चासो दिँदै आएका छन् ।
विशेष गरी स्थानीय पर्यटन व्यवसायीहरू सरोकार भएका निकायसँगको छलफल तथा प्रवर्द्धनात्मक उडानमार्फत नियमित र व्यावसायिक रूपमा सञ्चालनका लागि ध्यानाकर्षण गराइरहेका छन् । नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूसँग छलफल गर्दै प्रवद्र्धनात्मक उडानमार्फत पहल गरिरहेको छ ।
यसैबीच, पोखरामा हुन लागेको ड्रागन बोट रेसका लागि चीनको छेन्दुबाट बिहीबार चार्टर उडान गरिएको छ । उडानमा एक सय २९ खेलाडीसहित सिचुवान विमान पोखरा उत्रेको थियो । नाट्टाको पहलमा पोखराबाट उत्तिकै सङ्ख्यामा यात्रु बोकेर प्रवर्द्धनात्मक कार्यक्रमका लागि सो विमान काठमाडौँ अवतरण गर्यो । यसमा पत्रकार, पर्यटन व्यवसायी र प्रदेशका पर्यटनमन्त्रीहरूको सहभागिता रहेको थियो ।
यस उडानले बढी भार बोकेर जहाज उडान र अवतरण हुन नसक्ने भन्ने भ्रमलाई तोड्न सफल भएको व्यवसायीको भनाइ छ । पूर्ण क्षमतामा उडान र अवतरण भएसँगै विमानस्थल पूर्ण सुरक्षित रहेको सन्देश पनि प्रवद्र्धनात्मक उडानले दिएको छ । रासस
तपाईको प्रतिक्रिया