आइतबार १४ पौष २०८१
समाज

बेलायती राजदूतले जानकी मन्दिरमा मनाए २२औं वैवाहिक वर्षगाठ

शनिबार पौष १३, २०८१/ Saturday 12-28-24

धनुषा । नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले हिन्दु संस्कारअनुसार जनकपुरमा वैवाहिक वर्षगाँठ मनाएका छन् । मिथिलामा विवाहमा हुने स्वयंवरका बेला लगाइने फूलको वरमाला र बेहुलाले टाउकोमा पहिरने मौर पाग लगाएर फेन दम्पतीले वैवाहिक वर्षगाँठ मनाएका हुन्। 

त्रेतायुगमा भगवान् रामले जनकपुरमै विवाह गरेकाले आफ्नो वैवाहिक वर्षगाँठ मनाउन जनकपुरधाम आउन पाएकोमा हर्षित भएको राजदूत फेनले बताए । फेनकी धर्मपत्नी जुलियाले पनि मिथिलामा दुल्हनले सौभाग्यका लागि पहिरने रातो सारी र चुनरी (सल) पहिरिएकी थिइन् । बेहुला र बेहुलीले लगनगाँठो कसेझैँ जानकी मन्दिरका सहायक महन्त रामरोशन दासलाई साक्षी राखेर उनीहरूले जानकी मन्दिरमा दर्शन पनि गरे । 

जनकपुरधाममा आफ्नो २२ औँ वैवाहिक वर्षगाँठको सिलसिलामा विभिन्न कार्यक्रमहरूमा श्रीमतीसहित सहभागी हुन पाउँदा गौरवान्वित महसुस भएको राजदूत फेनको भनाई थियो ।

फेनले जुलियालाई अँगुठी पनि पहिराएका थिए । उनीहरूले माता जानकीको पवित्र जन्मभूमि र मिथिला र मधेसको परम्परागत भेष, भाषा, संस्कृति तथा रीतिरिवाज रमणीय र संसारकै उत्कृष्ट लागेको बताए । 

तपाईको प्रतिक्रिया