बुधबार २३ माघ २०८१
बिजनेस

बैंकिङ प्रणालीबाट ८० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बुधबार पौष २४, २०८१/ Wednesday 01-08-25

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार ८० अर्ब रूपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज फेरि रकम उठाउन लागेको हो ।

राष्ट्र बैंकले १४ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्ने भएको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलब पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा ‘प्रो-रेट बेसिस’मा बाँडफाँट गरिनेछ । आव्हान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार समितिलाई रहनेछ ।

स्वीकृत भएका बोलपत्र बापतको रकम बैंकले सम्बन्धित काउण्टर पार्टीको यस बैंकमा रहेको खाता खर्च गरी लिनेछ र बैंकमा संकलित निक्षेपको अलग्गै खाता खोली जम्मा गर्नेछ ।

तपाईको प्रतिक्रिया