भूकम्प : काठमाडौंमा एक व्यक्ति घरको छतबाट हामफाले, बारामा ११ विद्यार्थी बेहोस
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका छन् ।
नेपाल प्रहरीका अनुसार नागार्जुन नगरपालिका-१० स्युचाटारका २० वर्षीय रिकेश थापाले हाम फालेका हुन् । आफ्नै तीन तले घरको १.५ तला माथिबाट हाम फाल्दा भुईंमा लडेर घाइते छन् । उनको मनमोहन अस्पतालमा उपचार जारी छ ।
प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएका छन् । उपचारपछि उनीहरुको स्वास्थ्य अवस्था सामान्य भई डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय)मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु नेपालको सगरमाथा क्षेत्रबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न भागमा महसुस गरिएको थियो ।
तपाईको प्रतिक्रिया