बुधबार २३ माघ २०८१
जीवनशैली

सुदूरपश्चिम, गण्डकी र बागमती ‘अफ्रिकन स्वाइन फिभर’ फैलियो : कैलालीमा ३८ वटा बङ्गुर मरे

आइतबार पौष २८, २०८१/ Sunday 01-12-25

काठमाण्डौ ।  सुँगुर, बङ्गुर तथा बँदेल प्रजातीमा लाग्ने ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८ वटा बङ्गुर मरेका छन् । घोडाघोडी–९ का किसान प्रदेशु चौधरीले पालेका बङ्गुर मरेका हुन् । घोडाघोडी नगरपालिकाको पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यले बङ्गुर मर्न थालेपछि गरिएको परीक्षणमा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार गएको पुस १८ गते पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा परीक्षण गर्दा रोग पुष्टि भएको हो ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर, काठमाण्डौले पनि पिसिआर परीक्षणपछि अफ्रिकन स्वाइन फिभर पुष्टि गरेको आचार्यले जानकारी दिनुभयो । सुदूरपश्चिमका कैलाली, कञ्चनपुरलगायत जिल्ला अफ्रिकन स्वाइन फिभरको उच्च जोखिममा छन् । २०७९ कात्तिकमा सुदूरपश्चिममा पहिलोपटक कैलालीको भजनीका किसान जय बुढाको बङ्गुर फार्ममा यो रोग देखापरेको थियो । त्यसबेला बुढाले पालेका चार सय ८२ वटा बङ्गुर मरेका थिए ।

यसवर्ष पनि अफ्रिकन स्वाइन फिभर सुदूरपश्चिम, गण्डकी र बागमतीमा देखिएको पशु सेवा विभागले जनाएको छ । यो रोग पशुबाट मानिसमा नसर्ने तर सुङ्गुर, बङ्गुर तथा बँदेल प्रजातीमा छिटो फैलिने सरुवा रोग हो । यसअघि २०७९ सालमा देशका २८ जिल्लामा रोग फैलिएको थियो ।

सङ्क्रमित सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिमा उच्च ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा नीलो धब्बा देखिने, खाना नखाने, छेर्ने, लड्खडाउने, तुहिने र ज्यानै जाने अवस्था आउने गरेको पशु स्वास्थ्य प्राविधिक आचार्यले बताउनुभयो ।

रोगी सुँगुर, बुङ्गुरलाई बथानबाट छुट्टै राख्न र उपचार गर्न, फार्ममा जैविक सुरक्षाका विधि अपनाउन, खोर तथा फार्ममा सरसफाइ गरी चुना तथा अन्य निःसङ्क्रमणका औषधि प्रयोग गर्न, ओसारपसारमा सावधानी अपनाउन किसानलाई आग्रह गरिएको पशु सेवा विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया