बिमाको सुविधा पाँच लाख रुपैयाँ पुर्याउन स्वास्थ्य बिमामा कार्यदलको सुझाव
काठमाडौँ । बिमा प्रणालीमार्फत सेवाग्राहीले प्राप्त गर्ने एक लाखसम्मको सुविधालाई बढाएर पाँच लाख रुपैयाँसम्म पुर्याउन स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलले सुझाव दिएको छ । हालको एक लाखको सुविधाले असाध्य तथा गम्भीर प्रकृतिका रोग लागेका नागरिकको उपचारमा ठूलो सहयोग पुर्याउन नसकेको हुँदा बिमाबाट प्राप्त हुने रकमलाई पाँच लाख पुर्याउनुपर्ने कार्यदलको निष्कर्ष छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई तत्काल, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनामार्फत सुझावहरूलाई कार्यान्वयनमा लैजान आग्रहसहितको प्रतिवेदन कार्यदलले बुझाएको हो । स्वास्थ्य बिमाको प्रभावकारिता वृद्धि गरी सबै नागरिकको पहुँचमा पुर्याउन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विश्व स्वास्थ्य संगठनमा कार्यरत नेपाली विज्ञ डा। शम्भु आचार्यको नेतृत्वमा असोज १३ गते ८ सदस्यीय कार्यदल गठन गरेका थिए ।
कार्यदलमा डा। शम्भु आचार्यका साथै विकास अर्थशास्त्री तथा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा। रघुराज काफ्लेसँगै वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा। भगवान कोइराला सदस्य रहेका थिए । यस्तै अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव सदस्य रहनेछन् । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक, स्वास्थ्य मन्त्रालयका सहसचिव डा। सरोज शर्मा समितिको सदस्य रहेका थिए ।
मन्त्रालयलाई सरकारले उपलब्ध गराउने आधारभूत र आकस्मिकलगायत सबै स्वास्थ्य सेवा स्वास्थ्य बिमामार्फत उपलब्ध गराउने गरी सम्बद्ध सबै पक्षको पुनःसंरचना गर्न पनि कार्यदलले सुझाव दिएको छ ।
तपाईको प्रतिक्रिया