बुधबार २ माघ २०८१
राजनीति

सरकारले स्वेच्छाचारी रवैया देखाएको विपक्षी दलहरुको निष्कर्ष

बुधबार माघ २, २०८१/ Wednesday 01-15-25

काठमाडौँ । सरकार स्वेच्छाचारी बनेको विपक्षी दलले ठहर गरेका छन् । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले उक्त ठहर गरेको हो । 

बैठकमा संसद् छलेर अध्यादेशहरु ल्याएको भन्दै त्यसको विरोध गरेको छ ।  साथै बैठकले संसद्को अधिवेशन बोलाउन माग गरेको छ । 

यदि सरकारले नियमित बैठक नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन माग गर्नेसम्मको तयारी भएको बैठक पछि माओवादी नेता वर्षमान पुनले जानकारी दिए ।

पुनले संसद्लाई छलेर सरकारले काम गर्दै गए प्रतिपक्षी दलहरूका तर्फबाट विशेष अधिवेशन माग गर्ने तयारी गर्ने समझदारी बनेको पनि जानकारी दिए ।

‘सरकारले अझै पनि यसरी नै संसद्लाई छलेर काम गर्छ भने प्रतिपक्षी दलहरूको तर्फबाट आवश्यक प¥यो भने हामी विशेष अधिवेशन माग गर्ने तयारीसम्म हामी गरिराखेका छौँ,’ उनले भने, ‘तयारी गर्नुपर्छ भन्ने हाम्रो समझदारी बनेको छ ।’

उपमहासचिव पुनले आजको बैठकमा विपक्षमा रहेका ६ पार्टीमात्रै सहभागी भए पनि प्रतिपक्षमा रहेका अन्य दलहरूको सकारात्मक समर्थन रहेको बताए । 

तपाईको प्रतिक्रिया