बुधबार २ माघ २०८१
राजनीति

देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक

बुधबार माघ २, २०८१/ Wednesday 01-15-25

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई छलफलका निम्ति बोलाएका छन् । देउवाले कांग्रेसतर्फका मन्त्रीहरूलाई बिहीबार (भोलि) बिहान ८ बजे बूढानीलकण्ठस्थित आफ्नो निवासमा आउन भनेका छन् ।

बैठकमा संसदीय दल कार्यसमितिमा सदस्यहरु पनि उपस्थित हुनेछन् । संसदीय दलको कार्यसमितिमा दलका नेता देउवा, पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ छन् ।

संसदीय दलको उपनेता पनि रहने व्यवस्था भए पनि हालसम्म देउवाले कसैलाई मनोनित गरेका छैनन् । कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले संसदीय दलको कार्यसमितिसहित मन्त्रीहरुको छलफल सभापति देउवाले डाकेको जानकारी गराए ।

पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काममा प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुई÷दुई महिनामा छलफल गर्ने कांग्रेसले निर्णय गरेको थियो । गत भदौमा पहिलो बैठक बसेको थियो। दोस्रो बैठक बिहीबारका लागि बोलाइएको छ। कांग्रेसबाट १० मन्त्री र २ राज्यमन्त्री बनेका छन् ।

सरकारका काम परिणाममुखी बनाउन कांग्रेसले मन्त्रीहरूसँग संवाद थालनी गत भदौदेखि सुरू गरेको थियो। महिनामा एक वा दुई पटक यस्ता छलफल गर्ने कार्यलाई कांग्रेसले निरन्तरता दिँदै आएको छ।

दुई राज्यमन्त्रीमा रुपा विक र पूर्णबहादुर तामाङ छन् । विकले वन तथा वातावरण र तामाङले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

पार्टी पदाधिकारी, संसदीय दल कार्यसमिति र मन्त्रीहरूबीच छलफल गरी सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउन खोजिएको कांग्रेसको भनाइ छ।

मन्त्री र राज्यमन्त्रीहरूसँग अहिलेसम्म गरेका कामकाज, कार्यमूलक योजना र पार्टीसँगको समन्वय लगायतका विषयमा कांग्रेसले छलफल गर्नेछ।

तपाईको प्रतिक्रिया