शनिबार १२ श्रावण २०८१
बिजनेस

पाँचौ चरणको उद्वार उडान आजबाट हुदै

सोमबार भदौ १, २०७७/ Monday 08-17-20

काठमाडौं । विदेशमा अलपत्र परेका नेपालीहरुलाई उनिहरुकै खर्चमा चार्टर उडानबाट स्वदेश फर्काउन आज (सोमबार) देखि पाँचौ चरणको उद्वार उडान हुदै छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पाँचौ पटक शुक्रबार थप ४३ वटा उडानलाई अनुमति दिएको थियो । 

सीसीएमसीका एक अधिकारीका अनुसार यी उद्धार उडानबाट कम्तीमा ७ हजार नेपाली स्वदेश फर्किन पाउनेछन् । भदौ १५ पछि सरकारले नियमित उडान गर्ने जनाइसकेको छ । सीसीएमसीले नेपाल वायुसेवा निगमलाई १७ वटा र हिमालय एयरलाइन्सलाई १५ वटा उद्धार उडानको अनुमति दिएको छ । युरोप र अमेरिकामा अलपत्र परेका नेपालीका लागि टर्किस एयरलाई अनुमति दिइएको छ । यीबाहेक कतार एयर, फ्लाई दुबई, मालिन्दो एयर, जजिरा एयरवेज, कोरियन एयर, एयर अरेबिया, इतिहाद एयर र सिल्क एयरलाई पनि अनुमति दिइएको छ ।

दुबईबाट ८ वटा, दोहाबाट ७, क्लालालम्पुरबाट ६, दम्माम र अबुधाबीबाट ५–५, कुवेतबाट ३, रियाद र सारजाहाबाट २–२ र अमेरिका, जापान, जेद्दा, कोरिया र अस्ट्रेलियाबाट १–१ गरी ४३ वटा उडान हुनेछन् । हाल तोकिएका १२ वटा गन्तव्यबाहेक युरोप, अमेरिका तथा अफ्रिकाबाट फर्किन चाहने नेपालीलाई पनि यिनै उडानबाट स्वदेश फर्किन खुला गरिएको छ । कतिपय मुलुकमा नियमित उडान सुरु भइसकेको छ । उद्धार उडानका लागि तोकिएका गन्तव्यसम्म ट्रान्जिट बनाएर नेपाल आउन सकिनेछ, ती अधिकारीले भने ।

उद्धार उडानको टिकट बिक्री सम्बन्धित वायुसेवा कम्पनीले मात्रै गर्न पाउनेछन् । स्वदेश फर्किन चाहने नेपालीले पीसीआर वा आरडीटी परीक्षण नेगेटिभ आएको प्रमाणपत्र बुझाउनुपर्नेछ । सीसीएमसीका एक सहसचिवका अनुसार नेपाली दूतावासहरूमा कम्तीमा ५० हजार नेपालीले स्वदेश फर्किन चाहेको भन्दै नाम टिपाएका छन् ।

तपाईको प्रतिक्रिया