भीम रावलको पक्षमा लाग्ने अछामका ६ जना एमाले नेताको जिम्मेवारी खोसियो
काठमाडौँ । गत पुस ११ गतेको सचिवालय बैठकबाट निष्कासित पूर्वउपाध्यक्ष डा. भीम रावललाई साथ दिने नेता-कार्यकर्तामाथि नेकपा एमालेले कारबाहीको डन्डा चलाउन थालेको छ।
रावलको गृहजिल्ला अछाममा पार्टी हितविपरीत काम गरेको आरोपमा जिल्ला कमिटीका ६ जना नेताहरूलाई एमालेले कारबाही गरेको छ ।
जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलले बुधबार विज्ञप्ति निकालेर पार्टीको विधानविपरीतका गतिविधिमा संलग्न भएकाले उनीहरूलाई कारबाही गरिएको स्पष्ट पारेका छन् ।
कारबाहीमा पर्नेमा जिल्ला कमिटी सचिवालय सदस्य एवम् संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुँवर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर छन् ।
उनीहरूलाई पार्टीको जिम्मेवारीबाट हटाइएको एमालेले जनाएको छ । ‘मातृभूमि जागरण अभियान नेपाल’ नामक जुलुसमा समावेश भई पार्टी र सम्माननीय प्रधानमन्त्री एवम् पार्टी केन्द्रीय कमिटीका अध्यक्षविरुद्ध अलोकतान्त्रिक र अशोभनीय नाराबाजी गरिएको तथा पार्टीविरुद्धको जुलुसमा सक्रिय भूमिका खेलेको देखिन्छ,’ एमालेले भनेको छ।
यसअघि पनि उनीहरू पार्टी हितविरुद्धको गतिविधिमा लागेको आरोप एमालेको जिल्ला नेतृत्वले लगाएको छ।
त्यसबेला पार्टीप्रति पूर्ण प्रतिबद्ध रहने लिखित आत्मालोचनासहितको स्पष्टीकरण पेस गरेकाले एकटकलाई कारबाही अगाडि नबढाउने निर्णय भएको थियो ।
तर अहिले रावललाई सघाएर पुरानै गतिविधि दोहोर्याएकोले कारबाही गरिएको एमालेले जनाएको छ।
तपाईको प्रतिक्रिया