बिहीबार २४ माघ २०८१
समाज

चितवनमा रवि लामिछानेसहित १४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता हुँदै

सोमबार माघ २१, २०८१/ Monday 02-03-25

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा आज (सोमबार) ठगीको मुद्दा दर्ता हुने तयारी भइरहेको छ ।

प्रहरीको अनुसन्धान र तिनका प्रमाणहरूको आधारमा सरकारी वकिल कार्यालयले आज ती व्यक्तिहरुविरुद्ध ठगी र संगठित अपराधको आरोपमा मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाले गरेको ठगीको आरोपमा पूर्व उपप्रधानमन्त्री र गृहमन्त्री समेत रहेका लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दर्ता हुनेछ । 

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल चितवनमा रहेको कारण मुद्दा दर्ता केही ढिला हुने सम्भावना रहेको छ ।

चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि तथ्यांक नमिलेको कारण अनुसन्धान प्रक्रिया पुनः गर्न निर्देशन दिएको थियो, जसका आधारमा फाइल प्रहरीको कार्यालयमा फर्काइएको थियो । प्रहरी कार्यालयले पुनः प्रक्रिया मिलाएर फाइल सरकारी वकिल कार्यालयमा एक साता अगाडि पठाएको थियो । अनुसन्धान प्रतिवेदनमा लामिछाने, उनका व्यावसायिक साझेदार एवं नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, प्रहरीकै पूर्वअसई रामबहादुर खनाल र कुमार रम्तेलसहित १४ जनालाई प्रतिवादी बनाउन राय दिइएको छ ।

बचतकर्ताहरूले ३८ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका थिए । उक्त रकम पनि ती प्रतिवादीहरूबाट भराउनुपर्ने प्रहरीको राय छ । यस्तै सहकारीबाट जीबी राईसहितका प्रतिवादीका नाममा रहेका विभिन्न ६ वटा कम्पनीमा गैरकानुनी तरिकाले ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ गएको निष्कर्ष प्रहरीले निकालेको छ ।

तपाईको प्रतिक्रिया