रविको बयान: जिबी राईको निर्देशनमा एक जिम्मेवार कर्मचारीको भूमिका निभाएको हुँ, ठगी गरेको छैन
चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको अनियमितता प्रकरणमा आफ्नो संलग्नता नरहेको रवि लामिछानेले बयान दिएका छन् ।
सरकारी वकिलसमक्ष दिएको बयानमा लामिछानेले गोर्खा मिडिया नेटवर्कमा लगानी ल्याउने कुनै कार्यमा आफ्नो संलग्ता र सहभागिता नरहेको उल्लेख गरेका छन् ।
प्रहरी अनुसन्धानका क्रममा साहारा चितवन सहकारीको १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको खुलेको थियो ।
लामिछानेले भने टेलिभिजनमा रकम ल्याउने कार्यमा सञ्चालकका रूपमा गितेन्द्रबाबु (जीबी) राई नै जिम्मेवार रहेको भनेका छन् ।
साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि, नेचर नेष्ट प्रालि रहेका छन् । उनीहरुविरुद्ध झण्डै ५६ करोड बिगो माग दाबी गरिएको छ ।
अभियोगपत्रमा लामिछानेले आफ्नो पदीय हैसियतमा श्रीमती निकिता पौडेलको नाममा चार वटा चेक काटेको भेटिएको अभियोग पत्रमा उल्लेख छ । यस्तै श्रीमतीआबद्ध गोपिकृष्ण मुभिजको नाममा समेत थप दुई वटा चेक काटिएको उल्लेख गरिएको छ ।
अभियोगपत्रमा भनिएको छ ‘विपक्ष रवि लामेछाने प्रबन्ध निर्देशक तथा शेयरधनि रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको बैंक खाताबाट निज रवि लामिछाने समेतको हस्ताक्षरले काटिएको ४ वटा चेक मार्फत निजको श्रीमती निकिता पौडेलको नाममा रु। ५९ लाख ३८ हजार २५१ रुपैयाँ र गोपिकृष्ण मुभिजको नाममा २ वटा चेकमार्फत ८१ लाख २५ हजार रकम भुक्तानी दिएको देखिन्छ’, ।
यता लामिछानेले भने यो कुरा पूर्ण रुपमा अस्वीकार गरेका छन् । उनले आफूले जिबी राईको निर्देशनमा एक जिम्मेवार कर्मचारीको भूमिका निभाएको र वित्तीय कारोबारमा आफ्नो कुनै पनि संलग्नता नरहेको प्रष्ट पारेका छन् । ‘कम्पनी शुरु गर्दा गितेन्द्र बाबु राई र छविलाल जोशी सञ्चालक थिए, उनीहरु बिचको सल्लाह सहमति बारे मलाई जानकारी छैन, तर मलाई १५ प्रतिशत स्वेट शेयर उपलब्ध गराउने कुरा दुबै सञ्चालकहरुको प्रस्ताव हो । गोरखा मिडिया नेटवर्कमा लगानी ल्याउने कुनै पनि कार्यमा मेरो संलग्नता र सहभागिता छैन’ उनले बयानमा भनेका छन् ।
तपाईको प्रतिक्रिया