बुधबार २३ माघ २०८१
प्रविधी

दर्ता हुन नआए फेसबुक र इन्स्टाग्रामलाई प्रतिबन्ध लगाउने मन्त्री गुरुङको चेतावनी

बुधबार माघ २३, २०८१/ Wednesday 02-05-25

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्‍जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउने बताएका छन् । सञ्‍चारमन्त्री गुरूङले एक कार्यक्रममा बोल्‍दै नेपालमा दर्ता नभएका सामाजिक कुनै पनि सामाजिक सञ्जाल चल्न नदिने चेतावनी दिएका हुन् ।

उनले भने, ‘हामीसँग अहिले दर्ता भएर, प्वाइन्ट अफ कन्टयाक्ट तोकेर बसेको आज टिकटक मात्रै छ । हामीले मेटालाई बोलाइरहेका छौँ, आउँछ, की आउँदैन, हेर्न बाँकी छ । आएन भने नेपालमा चल्न दिन्नौं ।’

सञ्चारमन्त्री गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताए ।

सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरुकै मागका कारण सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको उनको भनाइ छ ।

उनले मनपरी लेख्ने, मनपरी गर्नेकुरा लोकतन्त्र नभएको भन्दै त्यसकै नियमनका लागि संसद्‌मा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक पेश गरिएको बताए । उनले केहीले विरोध सुरू गरेको भएपनि लोकतन्त्रमा उक्त कुरा स्वभाविक रहेको बताए ।

मन्त्री गुरुङले सकारमा दर्ता हुन आउनेलाई सञ्चालनका लागि सरकारले सहज वातावरण मिलाउने बताए । उनले सामाजिक सञ्जालको क्षेत्र अराजकता र उच्छृङ्खलताको  क्षेत्र नभएकाले देशको नियम, कानुनअनुसार चल्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया