बुधबार २८ फाल्गुण २०८१
समाज

बुढानीलकण्ठस्थित अनलाइन जुवा अखडामा प्रहरीको छापा, तीन अर्ब बढीको कारोबार

सोमबार माघ २८, २०८१/ Monday 02-10-25

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठस्थित एक घरमा छापा मारेर आइतबार (माघ २७) प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित घरमा छापा मारेर २३ जनालाई पक्राउ गरेको थियो।

यसरी काठमाडौंमा अनलाइन बेटिङ खेलाउनेमा भारतीय नागरिक सक्रिय रहेको प्रहरीको अनुसन्धानमा देखिएको हो। हाल पक्राउ परेकाहरू पनि भारतको बिहारस्थित बांका जिल्लाको रहेको प्रहरीले जनाएको छ।

परिसरका प्रमुख एसएसपी विश्व अधिकारीको नेतृत्वमा खटिएको टोलीले घरमा छापा मारेको थियो। एक घरमा बेटिङको खेल खेलाउँदै आएको सूचना पाएपछि परिसरको टोली त्यहाँ पुगेको हो।

छापा मारेपछि उक्‍त घरबाट ८८ वटा मोबाइल फोन बरामद गरेको छ। १० वटा ल्यापटप, ८१ हजार नगद पनि बरामद गरेको एसएसपी विश्व अधिकारीले जानकारी दिए। उनका अनुसार उक्त समूहले सञ्चालन गर्दै आएको कामबारे अनुसन्धान जारी छ।

प्रारम्भिक अनुसन्धानबाट करिब ३ अर्बको कारोबार गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । पक्राउ परेकाहरू विरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिने एसएसपी अधिकारीले जानकारी दिए । उनले भने, ‘बरामद गरिएका मोबाइलमा फेला परेका तथ्याङ्क एनालाइसिस गर्दैछौं ।’

आरोपीहरू लोटस एप प्रयोग गरेर अनलाइन जुवा सञ्चालन गरेका हुन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘क्यासिनो प्रकृतिको जुवा सञ्चालन गरेर अर्बौँ कारोबार गरेको देखिन्छ ।’

घटना अनुसन्धानका क्रममा रहेकाले यो रकम बढ्ने प्रहरीको अनुमान छ । पक्राउ परेकाहरूलाई प्रहरीले भोलि (माघ २९) सार्वजनिक गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया