बुधबार २८ फाल्गुण २०८१
राजनीति

सामाजिक सञ्जाल विधेयकको विरोधमा नेविसंघको प्रदर्शन

बुधबार माघ ३०, २०८१/ Wednesday 02-12-25

काठमाडाैँ । सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकको विरोधमा प्रदर्शन गरेको छ।

सरकारले राष्ट्रिय सभामा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता गरी छलफलसमेत अघि बढाइसकेको छ। नेविसंघले बुधबार माइतीघर मण्डलमा उक्त विधेयकको विरोधमा प्रदर्शन गरेको हो।

विधेयक अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध रहेको भन्दै प्रतिकात्मक विरोध गरिएको थियो । प्रदर्शनमा कांग्रेसको एक सूचना लेखेको प्लाकार्डसहित विद्यार्थीहरूले विरोध गरेका थिए।

कांग्रेसको झण्डामा रहेका चार तारालाई राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र स्वतन्त्रताका सूचकका रूपमा व्याख्या गर्ने गरिएको छ । चार वटामध्ये एउटा तारालाई अभिव्यक्ति स्वतन्त्रताका रूपमा परिभाषित गरिन्छ ।

साथै, ‘डियर केपी बा समृद्ध नेपालमा बोल्न पाइन्न र?, ‘नियमन चाहिएको हो, नियन्त्रण होइन’, ‘प्रश्नसँग डराएको सरकार’ लगायतका नारा सहित विरोध गरिएको थियो ।

सामाजिक सञ्जाल विधेयकमा विवादास्पद विषयहरूमा वास्तविक पहिचान दर्ता गर्न बाध्य बनाउने, ‘अश्लील’ र घृणा शब्दहरूको परिभाषा अस्पष्टता, सरकारलाई इन्टरनेट प्रयोगकर्ताहरूको गतिविधिमा निगरानी, दण्डहरू अनुपातहीन, कारबाही गर्ने अधिकार अदालत बाहिर हुनुलगायत रहेको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया