बुधबार २८ फाल्गुण २०८१
समाज

ग्यास व्यवसायी र सरकारबिच सहमति, १५ दिनका लागि आन्दोलन स्थगित

बुधबार माघ ३०, २०८१/ Wednesday 02-12-25

काठमाडौँ । ग्यास व्यवसायी र सरकारबिच सहमति भएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र व्यवसायीबिच छलफल भएको थियो । 

उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र संघका पदाधिकारीबीच भएको छलफलमा संघले राखेका जायज माग सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।

संघले आन्दोलन घोषणा गरेपछि मन्त्री भण्डारीले निगम र संघका पदाधिकारीलाई छलफलका लागि बोलाएका थिए। संघले राखेकामध्ये जायज माग सम्बोधन गर्ने उनले बताए।

संघले लागतअनुसार बजार मूल्य वृद्धि गर्नुपर्नेलगायत विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको थियो।

संघले छ वर्षअघि समायोजन गरिएको मूल्यमा अहिले पनि ग्यास वितरण भइरहेकाले घाटा बेहोर्नुपरिरहेको भन्दै मूल्य समायोजनको माग राख्दै आएको छ।

मन्त्रालयले केही समय पहिला वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको संयोजकत्वमा समिति बनाएको थियो।

छलफलमा व्यवसायीका जायज माग १५ दिनभित्र पूरा गर्ने सहमति भएको हो । उक्त सहमतिसँगै व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको उद्योगमन्त्री दामोदर भण्डारीको सचिवालयले जनाएको छ । 

 

तपाईको प्रतिक्रिया