
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
पूर्वअध्यक्ष थापाले यसअघि नै महासचिव राईले एक अन्तर्वार्तामा आफूविरुद्ध झुटा र तथ्यहीन आरोप लगाएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएका थिए ।
राईले मुलुकी अपराध संहिता २०७४ को दफा ३०६(१)ले निषेधित र सोही दफा (२) (क) विपरीतको कसुर गरेको जिकिरसहित थापाले दफा ३०७ को उपदफा (१) बमोजिमको सजाय तथा सोही दफाको उपदफा (२) बमोजिमको क्षतिपूर्ति एवं मुद्दामा लागेको खर्च समेत भर्न मुद्दामा मागदाबी गरेका छन्।
महासचिव राईले अध्यक्ष रहँदा थापाले एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको दाबी गरेका थिए। उक्त आरोप आधारहीन रहेको दाबी गर्दै थापाले राईले आफ्नो चरित्र हत्या गरेको जिकिर गरेका छन्। थापाले यसअघि राईविरुद्ध प्रहरीको साइबर ब्युरो भोटाहिटीमा समेत उजुरी दिएका थिए।
तपाईको प्रतिक्रिया