बुधबार १३ चैत २०८१
समाज

नक्कली नोटसहित पाँच जना पक्राउ

बुधबार फाल्गुण २८, २०८१/ Wednesday 03-12-25

जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवाबाट नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका–८ गोरखकाली नाकाबाट एक लाख ७६ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित उनीहरूलाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सर्लाहीको धनकौल गाउँपालिका–७ बैरियाका ४८ वर्षीय दुलार सहनी, ब्रह्मपुरी गाउँपालिका–२ का ५० वर्षीय रामपृत सहनी, सोही ठाउँकी ३५ वर्षीया सिहानताकुमारी देवी, महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरका ४२ वर्षीय खुर्सैद उर्फ सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९ चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी छन् ।

भारततर्फबाट बा.४७ प ८७५७, बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३०४९ नम्वरको मोटरसाइकलमा नेपाल आउँदै गर्दा सूराकीको आधारमा खानतलासी गर्दा उनीहरूको साथबाट नक्कली नोट बरामद भएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

प्रहरीले उक्त गिरोहको साथबाट नेपाली नक्कली एक हजार दरको तलमाथि एक/एक वटा नोट राखेर बीचमा सेतो पेपर राखेर बनाइएको ८८ थान बण्डलमा नक्कली नेपाली रुपैयाँ १७६ थान (एक लाख ७६ हजार रुपियाँ) बरामद गरेको छ। 

तपाईको प्रतिक्रिया