बुधबार ६ चैत २०८१
राजनीति

ज्ञानेन्द्र शाहीलाई रघुजी पन्तको चुनौती : मिस्टर माननीय, मसँग बहस गर्न इतिहास पढेर आउने

आइतबार चैत ३, २०८१/ Sunday 03-16-25

काठमाडौं । नेकपा (एमाले) सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन भनेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद पन्तले आफ्नो धारणा राख्ने क्रममा राप्रपाका सांसद शाही उठेर विरोध जनाउन खोजेपछि जवाफमा पन्तले आफूसँग बसह गर्ने हो भने इतिहास पढेर आउन भनेका हुन् ।

शाहीले पन्तले गलत इतिहास सुनाएको जिकिर गरे । पन्तले आफ्नो बोल्ने समयमा ‘डिटर्ब’ नगर्न आग्रह गरे । शाहीले जे पायो त्यही भन्न मिल्छ ? भन्दै प्रश्न गरे ।

“मैले बोलेको इतिहास गलत हो भने इतिहासको पुस्तक पढाएर साबित गरौँ,” उनले भने ।

त्यसपछि सभामुख घिमिरेले आफ्नो समयमा बोल्न आग्रह गर्दै पन्तको काटिएको समय थप गरे । थप समयमा पन्तले पूर्वराजाको सक्रियताप्रति आपत्ति जनाए । उनले सत्तापक्ष पनि सडकमा आउन नपरोस् भन्दै चेतावनी दिए ।

उनले २०१२ सालमा छापिएको हुलाक टिकटमा चुच्चे नक्शा रहेको तर २०१७ सालपछि पञ्चायतपछि चुच्चे नक्शा हराएको भन्दै त्यसको जवाफ मागेका छन् । उनले गणतन्त्र आएपछि चुच्चे नक्शा ल्याएको बताए । चुच्चे नक्शा छापिएपछि कसरी राष्ट्रियता कमजोर भएको भन्दै पन्तले प्रश्न तेर्साए ।

उनले राजावादीहरुको पछिल्लो आन्दोलनमो उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्विर प्रयोग गरिएकोबारे पनि प्रश्न उठाए ।उनले भने,‘तपाईंहरु जुलुश निकाल्नुहुन्छ, राजावादीहरुको भनेर । त्यहाँ यसो हेर्यो, सबभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश । यही हो देशभक्ति ? देशभक्तिको नमूना यही हो ?’ उनले राजा महेन्द्रको पालामा (सक्रिय राजतन्त्र) कै पालामा नेपालको चुच्चे नक्शा हराएको आरोप लगाए ।

तपाईको प्रतिक्रिया