आईजी दीपक थापाको पहिलो निर्णय : प्रहरीको सहुलियत कर्जा वृद्धि

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) दीपक थापाले पहिलो निर्णयस्वरूप प्रहरी कर्मचारीको सहुलियत कर्जा चार लाखबाट पाँच लाख रुपैयाँ पुर्याएका छन्।
मंगलबार प्रहरी प्रधान कार्यालयमा बसेको पोलिसी कोओर्डिनेशन कमिटी (पीसीसी) बैठक मार्फत उक्त निर्णय गरिएको हो।
साथै, यसअघि ७ वर्ष सेवा अवधि पूरा गरेपछि मात्र सहुलियत कर्जा पाउने व्यवस्था संशोधन गरी ५ वर्षमै कर्जा लिन पाउने बनाइएको छ।पीसीसी बैठकले कर्जाको ब्याजदर घटाउने, किस्ता अवधि ५ वर्षबाट ७ वर्ष पुर्याउने र प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि २०८० लाई संशोधन गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता दिनेश आचार्यले जानकारी दिए।
प्रहरीको कल्याण महाशाखाअन्तर्गत रहने कल्याण कोषबाट प्रहरी कर्मचारीहरुले विभिन्न सेवा-सुविधाहरु पाउँदै आएका छन् । यसअघिसम्म सहुलियत कर्जा भनेर प्रहरी कर्मचारीले ४ लाख रुपैयाँ कर्जा पाउँदै आएका थिए ।
थापा आईजी भएपछि मंगलबार बसेको पीसीसीको पहिलो बैठकले चार लाख कर्जालाई बढाएर ५ लाख रुपैयाँ पुर्याएको प्रवक्ता आचार्यले बताए ।
त्यसैगरी यो कर्जा पाउन यसअघिसम्म ७ वर्ष प्रहरी सेवामा बिताएको हुनुपर्ने व्यवस्था थियो । उक्त व्यवस्थालाई समेत घटाएर ५ वर्षमा झारिएको आचार्यले बताए । यो बाहेक अन्य विषयहरुलाई संशोधन गर्नुपर्ने भन्दै समिति गठन गर्नसमेत पीसीसीले निर्देशन दिएको छ ।
तपाईको प्रतिक्रिया