बुधबार १० बैशाख २०८२
अर्थ

सरकारले यो वर्ष कम्तीमा पाँच सय युवालाई स्टार्टअप ऋण सहायता दिन्छ : प्रधानमन्त्री ओली

बिहीबार चैत ७, २०८१/ Thursday 03-20-25

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गरी स्टार्टअपमा आधारित उद्यमशीलता विकासमा लगानीकर्ताहरूलाई आकर्षित गर्न सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने कार्यक्रममा इच्छुक प्रस्तावकहरूबाट छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।

स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दिगो आधार तयार गर्ने उद्देश्यले सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन भर्खरै सम्पन्न गरेको उनले बताए। 'अहिले संसार ग्लोबल भिलेज बनेकाले व्यवसाय, रोजगारी र अध्ययनका लागि जतिसुकै विकसित र धनी देशका नागरिक पनि आफ्नो रुची अनुसार विदेश जाने शिलशिला विश्वव्यापी रहेको छ,' उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले देशभित्रै युवाहरू रहने र यहीबाट आफ्नो रुचीअनुसारको पढाइ पूरा गर्ने वातावरण बनाउन समेत सरकारले पहल गरिरहेको बताए।

तपाईको प्रतिक्रिया