प्रचण्डसँग सम्पर्क हुनेवित्तिकै टीआरसी आयोगको पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढ्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सम्पर्क हुनेवित्तिकै बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।
आज (बिहीबार) प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा माओवादी नेतृ एवं प्रतिनिधि सभा सदस्य विमला सुवेदीले ‘शान्ति प्रक्रियाको काम टुङ्ग्याउन किन आयोग गठन नगरेको ? बेपत्ता योद्धाहरु कहिले सार्वजनिक हुन्छन् ?’ लगायतका प्रश्न गरेकी थिईन् ।
सांसद शर्माका प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालमा द्वन्द्वकालमा भएका घटनाका कारण पीडित भएका व्यक्ति तथा निजका परिवारका सदस्यले छिटोभन्दा छिटो न्याय प्राप्त गरुन् भन्ने कुरामा सरकार संवेदनशील र गम्भीर रहेको बताए । आफूले यस विषयमा छलफल गर्न प्रचण्डसँग पटक–पटक सम्पर्क गर्न खोज्दा पनि सम्भवन नभएको बताए ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथासक्य छिटो सुरु गरी शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार प्रतिवद्ध त । यसमा अहिले पनि म प्रयासरत छु ।
यसमा म विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु । मैले पटकपटक प्रयास गर्दा उहाँ स्वास्थ्यमा केही सम्पर्क गर्न नसक्नुभएको जवाफ पाएको छु ।’ प्रधानमन्त्री ओलीले प्रचण्डसँग सम्पर्क हुनासाथ शान्ति प्रक्रियाका बाँकी काम अघि बढ्ने जिकिर गरे ।
तपाईको प्रतिक्रिया