बुधबार १० बैशाख २०८२
राजनीति

विपक्षी दलको विरोधपछि प्रतिनिधि सभा बैठक आधा घन्टा स्थगित

बुधबार चैत १३, २०८१/ Wednesday 03-26-25

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक आधा घन्टाका लागि स्थगित भएको छ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा विपक्षी दलहरूका तर्फबाट माओवादीका सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्रीसँग जबाफ माग गरेका थिए।

तर प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिएनन्। प्रधानमन्त्री सत्ता गठबन्धन बैठकमा बालुवाटारमा थिए।

सभामुख देवराज घिमिरेले सदन सुरु गर्नेवित्तिकै विपक्षी दलहरूले उठेर अवरोध सुरु गरेका थिए । सभामुख घिमिरेले पटक–पटक आग्रह गर्दा पनि विपक्षी दलका सांसद्हरू बसेनन् ।  त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् । 

विपक्षी दलहरूको तर्फबाट माओवादी सांसद शक्ति बस्नेतले घिसिङलाई हटाउनाको कारण प्रधानमन्त्रीले संसद्मा नदिँदासम्म बैठक सञ्चालन हुन नसक्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया