शनिबार ६ बैशाख २०८२
राजनीति

शिक्षक आन्दोलन: प्रधानमन्त्रीसँगको वार्ता निष्कर्षविहीन

शनिबार बैशाख ६, २०८२/ Saturday 04-19-25

काठमाण्डौं ।  प्रधानमन्त्रीसँगको वार्ता पनि कुनै ठोस निष्कर्षमा नपुगेपछि शिक्षकहरूले आफ्नो आन्दोलन जारी राख्ने भएका छन्। शुक्रबार राति अबेरसम्म प्रधानमन्त्री र शिक्षक प्रतिनिधिहरूबीच संवाद भए पनि समाधानको दिशा नखुलेपछि आन्दोलन जारी राख्ने निष्कर्षमा शिक्षक पुगेका हुन्।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार राति ९ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएको थियो। त्यसपछि सभामुख देवराज घिमिरेसँग पनि थप संवाद भएको थियो। सुवेदीका अनुसार प्रधानमन्त्री ओली मागप्रति सकारात्मक देखिए पनि शिक्षकहरूले ऐन जारी नै आन्दोलनको न्यूनतम सर्त भएको बताएपछि वार्ता विफल भएको हो। शिक्षामन्त्रीले केही अस्थायी आश्वासन दिन खोजे पनि शिक्षकहरू “सानातिना लेनदेन गरेर आन्दोलन अन्त्य हुँदैन” भन्ने अडानमा अडिग रहे।

सरकारले वैशाख १२ गतेदेखि सुरु हुने संसदको बर्खे अधिवेशनमार्फत शिक्षा ऐन जारी गर्ने योजना बनाएको भए पनि शिक्षकहरू ऐनको आधिकारिक प्रतिलिपि हातमा नपुन्जेल विद्यालय नफर्किने अडानमा छन्।

शुक्रबार रातिको वार्ता विफल भएपछि शिक्षक महासंघले आज पनि आन्दोलन जारी राख्ने जनाएको छ। अध्यक्ष सुवेदीले समग्र परिस्थितिको मूल्यांकन गर्दा आन्दोलन तत्काल अन्त्य गर्न नसकिने भन्दै शिक्षकहरूलाई शनिबार दिउँसो १२ बजे माइतीघरमा भेला हुन आग्रह गरेका छन्।

शिक्षकहरूको आन्दोलन नरोके कक्षा १२ को परीक्षा प्रभावित हुने सम्भावना देखिएको छ। यद्यपि, राष्ट्रिय परीक्षा बोर्डले भने अहिलेसम्म परीक्षा सार्नेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेको छ।

 

तपाईको प्रतिक्रिया