यू-१९ विश्वकप एशिया छनोट : डीएलएसमा यूएईलाई हराउँदै नेपालको विजयी शुरुवात

काठमाडौँ। आईसीसी यू–१९ विश्वकप एशिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।
शनिबार सम्पन्न उद्घाटन खेलमा नेपालले डकवर्थ–लुइस (डीएलएस) नियमअनुसार आयोजक युएईलाई ५ रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो।
खेल वर्षाले प्रभावित भएपछि ५० ओभरको खेललाई घटाएर ४० ओभरमा सीमित गरिएको थियो। तर पुनः वर्षा भएपछि खेल स्थगित हुन पुग्यो, जसका कारण नतिजा डकवर्थ–लुइस विधिबाट तय गर्नुपर्यो।
नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याउँदै युएईले ३६ ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको अवस्थामा झन् बढी वर्षा र प्रकाशको अभावले खेल रोकिएको थियो।
युएईका लागि याईन किरण राईले अविजित १०४ रनको शानदार शतकीय पारी खेले।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेटको क्षतिमा २०० रन बनाएको थियो। कप्तान नरेन भट्टले उत्कृष्ट प्रदर्शन गर्दै ६७ रनको कप्तानी पारी खेले।
प्रतियोगिताको दोस्रो खेलमा नेपालले भोलि ओमानसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।
तपाईको प्रतिक्रिया