आन्दोलनकारीले घेरा हालेपछि शौचालयमा थुनेर योगेश भट्टराईलाई प्रहरीले दियो सुरक्षा

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईविरूद्ध ताप्लेजुङमा नाराबाजी भएको छ।
कन्चनजंघा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सचिव भट्टराई शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेप पुगेका थिए।
उनीसँगै पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे पनि हेलिकप्टर चढेर ताप्लेजुङ पुगेका थिए। कार्यक्रम सम्पन्न भएर फर्कनै लाग्दा भट्टराईविरूद्ध 'नो केबलकार समूह' र 'पहिचानवादी समूह'ले नाराबाजी गरेका थिए।
अपराह्नतिर कार्यक्रम सकिएपछि पर्यटनमन्त्री पाण्डे हेलिकप्टरतिर गइसकेका थिए। भट्टराई नजिकै रहेको कन्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको शौचालय गएका थिए।
उनी शौचालय भित्र छिर्नेबित्तिकै पहिचानवादी समूह र नो केवलकार समूहले शौचालय घेरेर भट्टराईविरूद्ध नाराबाजी गरेका थिए।
आन्दोलनकारीले नाराबाजी गरेपछि प्रहरीको थप जनशक्तिले भीडलाई तितरबितर गरेका थिए । चर्को नाराबाजीका बीच प्रहरीले नेता भट्टराईलाई हेलिकोप्टरसम्मै सुरक्षा दिनुपरेको स्थानीयले बताएका छन् । भट्टराईमाथि आक्रमणसम्मकै प्रयास भएपछि प्रहरी र स्थानीयबीच ठेलमठेलसमेत भएको प्रत्यक्षदर्शीले बताए ।
शुक्रबार महोत्सवको उद्घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रिप्रसाद पाण्डेसहित नेता भट्टराई हेलिकोप्टरबाट ताप्लेजुङको लेलेप पुगेका थिए ।
तपाईको प्रतिक्रिया