शुक्रबार २६ बैशाख २०८२
राजनीति

‘आई लभ यू केपी बा’ होइन, संसद् विघटनको हिसाब माग्नुपर्छ : घनश्याम भुसाल

मंगलबार बैशाख ९, २०८२/ Tuesday 04-22-25

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले प्रमुख तीन दलको कडा आलोचना गर्दै काम एकातिर, कुरा अर्कैतिर गर्ने गरेको टिप्पणी गरेका छन् ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवस एवम् लेनिन जयन्तीको अवसरमा आज मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भूसालले सत्ता गठबन्धनका प्रमुख घटक एमाले–कांग्रेसदेखि विपक्षी सहयात्री दल नेकपा माओवादी केन्द्रसम्मको आलोचना गरे ।

‘संविधान संशोधनका कुरा उठेको छ । शासकको लहडमा संविधान संशोधन हुने हो भने देश बहुआयामिक द्वन्द्वमा फस्नेवाला छ । कसैले धर्म निरपेक्षताको नाममा, कसैले निर्वाचन प्रणालीको नाममा, कसैले शासकीय स्वरूपको नाममा त कसैले समावेशीको नाममा संविधान च्यात्नेवाला छन्’, चेतावनी दिँदै उनले भने । 

भुसालले देश असफल हुने, नेता तथा पार्टी सफल हुने अवस्था देखिएकाले अहिले शासक जहाँ गयो त्यहीँ विरोध हुने अवस्था आएको बताए । यो तहसम्मको अविश्वास हुँदा समेत प्रधानमन्त्री केपी ओलीले वैशाख ११ गते भिड जम्मा गरेर आफू बलियो छु भनेर देखाउन खोजेको उनले आरोप लगाए । 

‘शासकमाथि देखिएको विरोधलाई प्रतिवाद गर्न प्रधानमन्त्रीले वैशाख ११ गते ठुलो मास जम्मा गर्दैछन् । दुर्भाग्य ! जुलुसमा आउनेहरूले पनि आइ लभ यु केपी बा भन्ने होलान् । उनीहरूले आइ लभ यु बा होइन । कमरेड केपी हाम्रो हिसाब देऊ । क्रान्तिको हिसाब देऊ । पार्टी विघटन, संसद् विघटन, लोकतन्त्रमाथि भएका आक्रमणको हिसाबकिताब देऊ भन्नुपर्ने  हो’, उनले भने । 

देशमा उकुसमुकुस निराशाको अवस्था रहेको र त्यही मौकामा पुनरुत्थानवादी र अराजक तत्वहरूले टाउको उठाउन खोजेको भन्दै आलोचना गरे ।

‘मान्छे अलिकति आक्रोशमा आयो भने जोसुकैलाई भत्काइदिन्छु बाख्राको खोर पनि भन्ने स्थिति छ, ग्राउन्ड त्यस्तो छ । यो आक्रोशलाई भजाउनका लागि पुनरुत्थानवादीहरू, अराजकहरू उठाउन लाग्या छन्,’ उनले भने, ‘लोकतन्त्रमा यो ठाउँबाट पार लगाउने भनेको पार्टीले हो । तर पार्टी कस्तो छ भने एमाले जस्तो । यो अवस्था हुनु देशको दुर्भाग्य हो ।’

एमाले र त्यसका अध्यक्ष ओलीको आलोचना गरेपछि उनले सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसको आलोचना सुरु गरे । उनले कांग्रेसलाई ‘न लायक, न नालायक’ को संज्ञा दिए ।

‘कांग्रेस पार्टी भनेको न लायक पार्टी हो, न नालायक पार्टी हो । अरू नालायक भए त्यो लायक भएजस्तो देखिन्छ । अरू लायक भए नालायकजस्तो देखिन्छ,’ भूसालले भने ।

तपाईको प्रतिक्रिया