प्रधानमन्त्री ओलीले सरकारको नेतृत्वमा बस्ने हैसियत गुमाइसकेः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्वमा बस्ने हैसियत गुमाइसकेको दाबी गरेका छन् ।
उनले देशको अवस्था निकै चुनौतीपूर्ण रहेको बताउँदै केपी शर्मा ओली नेतृत्वको सरकारको जन्म नै असंवैधानिक तरिकाले भएको बताए ।
लाखौं शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा होमिएको यतिका दिन भइसक्दा पनि समाधान नखोजिनुपर्ने प्रधानमन्त्री ओलीले सरकारमा बस्ने हैसियत र नैतिकता गुमाइसकेको पुष्टि हुने उनले बताए ।
“देशको स्थिति चुनौतीपूर्ण छ । एमाले र केपी ओली नेतृत्वको सरकारको जन्म नै अलोकतान्त्रिक र असंवैधानिक छ भनेका छौँ । यसले गर्ने भनेको भ्रष्टाचारीको रक्षा नै हो,” उनले भने ।
उनले राम्रो काम गर्नेको तेजोबध गर्ने र आफ्नो लागि लागिपर्नेलाई जसरी पनि जोगाउने नै यो सरकारको काम भएको बताए ।
उनले यो सरकारका गलत काम हजारौँ भएकाले राख्न नमिल्ने बताए ।
“आजकै दिनमा सरकार साच्चै भन्ने हो भने एक दिन पनि नेतृत्वमा बस्ने हैसियत गुमाइसकेको छ,” उनले काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै भने, “दुई सातादेखि शिक्षक सडकमा छन् । शिक्षकलाई अपमानित गर्ने र गाली गर्नेबाहेक केही भएन । यो भन्दा ठूलो अपमान के हुन्छ ? वार्ता गर्नेभन्दा प्रधानमन्त्रीले शिक्षकलाई अपमान गर्न थाले । त्यसैले अब एक दिन पनि सरकारको नेतृत्वमा बस्न मिल्दैन ।”
तपाईको प्रतिक्रिया