आइतबार १८ जेठ २०८२
समाज

मादीमा जीप खस्दा तीनजनाको मृत्यु

आइतबार जेठ ११, २०८२/ Sunday 05-25-25

काठमाडौं। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-३ र ४ जोड्ने मादी नदीको पुलबाट जीप खस्दा तीन जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

ग २ च ५७६० नम्बरको जीप दमौलीबाट चापाघाटतर्फ जाँदै गर्दा शनिबार राति करिब साढे ११ बजे पुलको रेलिङ तोडेर मादी नदीमा खसेको थियो। दुर्घटनामा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उनीहरूको मृत्यु दमौली अस्पतालमा उपचारको क्रममा भएको हो।

घाइते दुई जनामध्ये एक जनाको अवस्था गम्भीर छ भने चालक सामान्य घाइते भएका छन्। घाइतेहरूको उपचार दमौली अस्पतालमा भइरहेको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।

दुर्घटनापछि नेपाली सेनाको कालीभञ्जन गण (ई), नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा उद्धार कार्य गरिएको थियो। जीपमा पाँच जना सवार थिए।

 

तपाईको प्रतिक्रिया