बुधबार २१ जेठ २०८२
समाज

सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु

सोमबार जेठ १९, २०८२/ Monday 06-02-25

काठमाडौं ।सरकार र यातायात व्यवसायीबीच जारी विवाद समाधानका लागि औपचारिक वार्ता सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा गठित सरकारी वार्ता टोली र व्यवसायी पक्षबीच गृहमन्त्रालयमा छलफल सुरु भएको हो।

गृहमन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार, वार्ताको पहल आज बिहान गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकबाट भएको हो। सो बैठकले सहसचिव पन्तको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको थियो।

गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीको विरोधमा आज यातायात व्यवसायीले सवारी साधन सञ्चालन रोकेका थिए। यो अवरोधका कारण राजधानीसहित देशभरको जनजीवन प्रभावित भएको छ।

उपत्यकामा केही साझा बसहरू सीमित संख्यामा मात्रै सञ्चालनमा रहेका छन्। यातायात नपाएर यात्रुहरू सडकमा लामो समय प्रतिक्षा गर्न बाध्य भएका छन्।

यता, व्यवसायी पक्षले पनि सरकारसँग वार्ताका लागि नौ सदस्यीय टोली गठन गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष तथा वार्ता टोली सदस्य सरोज सिटौलाले वार्ता सुरु भएको जानकारी दिएका छन्।

 

तपाईको प्रतिक्रिया