राजनीति
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरुद्ध गर्ने माओवादी केन्द्रको निर्णय
सोमबार जेठ १९, २०८२/ Monday 06-02-25

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदमा अवरोध जारी रहने निर्णय गरेको छ।
सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राख्ने निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।
“भोलिको संसद बैठकमा पनि अवरोध यथावत् रहनेछ,” नेता पुनले भने, “गृहमन्त्रीले मार्ग प्रशस्त नगरेसम्म हामी संसद चल्न दिने छैनौं। भिजिट भिसा प्रकरणमा स्पष्ट अनियमितता र भ्रष्टाचार देखिएको छ, त्यसको निष्पक्ष छानबिन आवश्यक छ।”
उनका अनुसार प्रधानमन्त्रीले आह्वान गरेको तीन दलबीचको बैठकमा पनि भिजिट भिसा प्रकरण प्रमुख एजेन्डा हुनेछ। पुनले भोलिको संसद बैठकअघि विपक्षी दलहरूबीच रणनीतिक बैठक पनि बस्ने जानकारी दिए।
तपाईको प्रतिक्रिया