मंगलबार २० जेठ २०८२
समाज

मनसुनमा देशभर करिब २० लाख जनसंख्या प्रभावित हुने अनुमान

बुधबार जेठ १४, २०८२/ Wednesday 05-28-25

काठमाडौं । यस वर्ष मनसुनजन्य विपद्का घटनाबाट करिब २० लाख नेपाली प्रभावित हुने अनुमान गरिएको छ । 

सरकारले यस वर्षको मनसुन अवधिमा देशभर ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आँकलन गरेको छ । सबैभन्दा धेरै जनसंख्या लुम्बिनी प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा प्रभावित हुने आँकलन छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा गरेको वर्षाको प्रक्षेपणलाई समेत आधार मानेर राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो आँकलन गरेको हो ।

यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको कार्ययोजनामा उल्लेख छ । बैठक कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख एवं कार्यकारी समितिका सदस्य सचिव ई. दिनेशप्रसाद भट्टले कार्यकारी समितिको ३१औँ बैठकबाट भएका निर्णयको समीक्षा, मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ स्वीकृति, आपतकालीन गोदामघर सञ्चालन कार्यविधि, २०८१ (प्रथम संशोधन), विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना ( २०१८ – २०३०)को कार्यान्वयनको अवस्थाबारेको अनुगमन प्रतिवेदन र चोभार गल्छीमा नदी प्रवाह सुचारुलगायत प्रस्ताव पेस गरेका थिए ।

बैठकले आपतकालीन गोदामघर सञ्चालन कार्यविधि, २०८१ (प्रथम संशोधन)सम्बन्धी प्रस्ताव पारित गरेको छ । त्यसैगरी कार्यकारी समितिको ३१औँ बैठकबाट भएका निर्णयको कार्यान्वयनको सन्दर्भमा भए/गरेका कामको समीक्षा पनि गरेको छ । 

विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना (२०१८– २०३०)को कार्यान्वयनको अवस्थाको सम्बन्धमा तयार भएको वार्षिक अनुगमन प्रतिवेदनबारे बैठकलाई जानकारी गराइएको छ ।

विपदको बेला उद्धार र राहतमा खटिने कम्पोजिट क्विक रियाक्सन टिमलाई १५ मिनेटभित्र हवाई साधनद्वारा परिचाललन गर्न सक्ने गरी गौचर ब्यारेक काठमाडौंमा तयारी हालतमा राखिएको छ ।

विपदको बेला सेना, प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, निजी क्षेत्र र प्राय सबै मन्त्रालयहरुले गर्नुपर्ने कार्यजिम्मेवारी समेत तोकिएको छ ।

 

तपाईको प्रतिक्रिया