
काठमाडौं । मुस्लिम धर्मावलम्बीले शनिबार दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) श्रद्धा र उत्साहका साथ मनाउँदै छन्।
इस्लाम धर्मअनुसार, रमजान पर्वको ७०औँ दिनमा मनाइने बकर इदलाई इब्राहिमले आफ्नो छोरा इस्माएललाई अल्लाहको आदेशमा बलिदान गर्न तयार भएको ऐतिहासिक घटनाको सम्झनामा मनाइन्छ। यो पर्व मुस्लिम धर्मावलम्बीका लागि समर्पण, त्याग र धार्मिक आस्थाको प्रतीक हो।
पर्वको दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाजपश्चात् एक-अर्कामा शुभकामना आदानप्रदान गर्ने चलन छ। काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा ठूलो संख्यामा श्रद्धालु भेला हुने गर्दछन्।
बकर इदमा मुसलमानहरूले अल्लाहलाई प्रसन्न पार्न धर्मले स्वीकृत गरेका जनावरहरूको कुर्बानी (बलि) दिने परम्परा छ। कुर्बानी गरिएको जनावरको मासु तीन भागमा बाँड्ने धार्मिक विधि छ—एक भाग गरिब तथा विपन्नलाई, एक भाग आफन्त र मित्रजनलाई, र बाँकी भाग आफ्नै परिवारले ग्रहण गर्ने गरिन्छ।
पर्वको मुख्य उद्देश्यमध्ये एक हज यात्रा पनि हो। मक्का-मदिना जानुलाई अत्यन्त शुभ मानिन्छ। सरकारले हजयात्राका लागि गृह मन्त्रालयअन्तर्गत हज समितिको सचिवालयमार्फत यात्रुहरूको समन्वय, भिसा, टिकट व्यवस्थापन गर्दै आएको छ। तर हजमा जान नसक्नेले भने घरमै बकर इद मनाउने गर्छन्।
नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनका अनुसार, बकर इद तीन दिन मनाइन्छ र ती तीनै दिन कुर्बानी गर्नुपर्ने धार्मिक विधि छ। यस अवसरमा सरकारले शनिबार सार्वजनिक बिदा दिएको छ।
तपाईको प्रतिक्रिया