शुक्रबार ९ कार्तिक २०८१
समाज

बिग्रिएको दुधबरी बेच्ने टिपटप समोसा पसललाई महानगरले २ लाख रुपैयाँ जरिबाना तिरायो

सोमबार असोज १, २०८०/ Monday 09-18-23

काठमाण्डौं।  काठमाण्डौं महानगरपालिकाले टिपटप समोसा पसललाई दुई लाख रुपैयाँ जरिबाना तिराएको छ ।

काठमाण्डौ महानगरपालिका वडा नम्बर १७ थहिटीमा रहेको टिपटप समोसा पसलमा अखाद्य वस्तु भेटिएको सूचना आएपछि महानगर अनुगमनमा गएको थियो । बजार अनुगमन समितिले अनुगमनका क्रममा अस्वच्छ र अखाद्य पदार्थ पाइएको भन्दै दुई लाख रुपैयाँ जरिबाना गराएको हो ।

महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेका अनुसार पसललाई दुई लाख रुपैयाँ जरिबाना तिराउनुका साथै सञ्चालक दीपकराज थपलियालाई पक्राउ गरेर केहीबेर जनसेवा प्रहरीमा राखिएको थियो । पसलमा दुधबरी बिग्रिएको पाइएको, सरसफाइमा ध्यान नदिएको, कर्मचारीको बोलीवचन नराम्रो भएकोजस्ता समस्याहरू रहेको पाण्डेले बताउनुभयो । अबदेखि गुणस्तर कायम गर्ने, दुग्धजन्य वस्तुको तापक्रम कायम गर्ने र पसलबाट बनेर बजारमा गएका सामान फिर्ता ल्याएर नष्ट गर्ने सहमति गरी पसललाई जरिबाना गराइएको उहाँको भनाइ छ ।

पसलका सञ्चालकले अबदेखि यस्तो नहुने वाचा गरेको र पुनः यस्तो भएमा हदैसम्मको कारबाही गरिने पाण्डेले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया