सोमबार १७ मङ्सिर २०८१
खेलकुद

भारतले विश्व च्याम्पियन बन्न अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य, कोहली र राहुलको अर्धशतक

आइतबार मङ्सिर ३, २०८०/ Sunday 11-19-23

काठमाडौं । भारतमा जारी एक दिवसीय विश्वकपको अहिले भइरहेको फाइनलमा घरेलु टोलीले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ ।

टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले निर्धिरत ५० ओभरमा सबै विकेट गुमाएर २४० रन जोड्यो । भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतकीय पाली खेले । कोहलीले ५४ र राहुलले ६६ रन बनाए ।

कप्तान रोहित शर्माले ४७ रन जोडे भने सुभमन गिल र श्रेयस अय्यर केवल ४ रन जोडेर आउट भए । सूर्यकुमार यादवले पनि १८ रनमात्र जोड्न सके ।

पहिलो विकेटका लागि ३० रनको साझेदारी गरेको भारत ५ रनको अन्तरमा दुई विकेट गुमाएपछि ८१-३ को स्थितिमा पुगेको थियो । त्यसपछि कोहली र राहुलले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए । भारतले १४८ रन जोड्दा चौथो विकेटका रुपमा कोहलीलाई प्याट कुमिन्सले आउट गरेका थिए ।

त्यसपछि भारतले पाँचौं विकेटका लागि ३० र छेटौं विकेटका लागि २५ रनको साझेदारी गरेको थियो । २०६ रन जोड्दा राहुल छैटौं विकेटका रुपमा आउट भएपछि भारत त्यसपछि लगातार दबाबमा आयो । राहुललाई मिचेल स्टार्कले आउट गरेका थिए ।

अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए । कप्तानसमेत रहेका प्याट कुमिन्स र जोस हेजलउडले पनि समान २ विकेट हात पारे । ग्लेन म्याक्सवेल र एडम जाम्पाले एकएक विकेट लिए ।

तपाईको प्रतिक्रिया