शनिबार १२ श्रावण २०८१
समाज

सर्वोच्च अदालतमा अनलाइन प्रविधिबाटै रिट दर्ता हुने

मंगलबार जेठ १, २०८१/ Tuesday 05-14-24

काठमाडौँ । सर्वोच्च अदालतमा अब जुनसुकै मुद्दाको रिट अनलाइनबाट दर्ता गर्न सकिने भएको छ।

एक कार्यक्रमका बिच सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले यो सेवाको शुभारम्भ गरे। आजैदेखि सार्वजनिक सरोकार, व्यक्तिगत र संवैधानिक इजलासका सबै रिट अनलाइनबाट दर्ता गर्न सकिने प्रधानन्यायाधीश श्रेष्ठले बताए ।

सर्वोच्च अदालतका रजिष्टार विमल पौडेलका अनुसार मंगलबार दुई सफ्टवेयर मार्फत अनलाइनबाट रिट दर्ता सुरु भएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले तत्कालका लागि अनलाइनबाट रिट दर्ता भएपछि अरु कागजात भौतिक रुपमा मागिने बताए । ‘उहाँहरुले अनलाइनबाट पठाएको रिट निवेदन हामीले प्रारम्भिक रुपमा हेर्छौं, त्यसलाई अघि बढाउन उपयुक्त देखिएमा अरु कागजात माग्नेछौं’, उनले अनलाइनखबरसँग भने, ‘हामीले परीक्षणको रुपमा यो सेवा सुरु गर्न खोजेको हो । काम गर्दै गएपछि आवश्यक परेमा थप परिमार्जन गरिनेछ ।’

तपाईको प्रतिक्रिया