बुधबार २३ माघ २०८१
खेलकुद

महिला टी-२०आई शृंखला : नेपाल लगातार चौथो खेलमा पराजित

मंगलबार माघ २२, २०८१/ Tuesday 02-04-25

काठमाडौं । नेपाल महिला ट्वान्टी–२० त्रिदेशीय शृंखलामा घरेलु टिम नेपालले लगातार चौथो खेलमा हार बेहोरेको छ । 

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले थाइल्यान्डसँग पाँच रनको हार बेहोरेको हो । खेलमा थाइल्यान्डले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि आठ विकेट गुमाएर १०१ रनमात्र बनाउन सक्यो ।

नेपालकी रुविना क्षेत्रीले सर्वाधिक २६ रन बनाइन् । यस्तै कविता जोशीले २४ रन बनाउँदा रोमा थापाले १९ र पूजा महतोले १८ रन जोडे ।

थाइल्यान्डकी थिपात्चा पुथाअवाङले चार विकेट लिइन् । उनले चार ओभरमा एक मेडन फ्याँक्दै १० रनमात्र खर्चिइन् । यस्तै, फनिता मायाले दुई विकेट लिइन् । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको थियो । 

थाइल्यान्डबाट चानिदा सुथिरुआङले सर्वाधिक २७ रन बनाइन् । यस्तै, थिपात्चा पुत्थावाङले २५ र नानपाट कोन्चिारोइन्काइले १९ रन बनाए । ओपनरद्वय अफिसारा सुवान्चोन्राथीले १७ र नाताया बुचाथामले १० रन थपे ।

नेपालकी मनीषा उपाध्यायले सर्वाधिक तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी मनीषाले एक मेडन फ्याँक्दै १८ रन खर्चिइन् । पूजा महतो र रचना चौधरीले समान एक विकेट लिए ।

प्रतियोगितामा नेपालको यो लगातार चौथो हार हो ।

तपाईको प्रतिक्रिया