आइतबार ११ कार्तिक २०८१
राजनीति

'फ्लोर क्रस' गरेर विश्वास मत दिएका सांसद देवकोटालाई माओवादीले गर्‍यो कारबाही

शुक्रबार जेठ ३२, २०८१/ Friday 06-14-24

पोखरा । माओवादी केन्द्रले फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको संसद् सचिवालयमा जानकारी गराएका छन् । प्रदेश सभाको शुक्रबार बस्ने दोस्रो बैठकमा सभामुखले कारबाही गरेको जानकारी दिने तयारी छ । त्यसो भएमा सांसद देवकोटा पदमुक्त हुनेछन् ।

‘हामीले उहाँलाई कारबाही गरेका छौं, सभामुखले आजै त्यसको जानकारी प्रदेश सभा बैठकमा गराउनुपर्ने हो,’ माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले सेतोपाटीसँग भने।

नेपाल समाजवादी पार्टीका नेता देवकोटा २०७९ को चुनावमा नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचन जितेका थिए।

उनले आफू माओवादीको नभई समाजवादीको सांसद रहेको र मुख्यमन्त्रीलाई मत दिन समाजवादीका केन्द्रीय नेताले दिएको निर्देशन कार्यान्वयन मात्रै गरेको प्रतिक्रिया दिने गरेका छन्। 

माओवादीले भने आफ्नो चुनाव चिह्न लिएकोले देवकोटा माओवादी संसदीय दलकै ह्विप लाग्ने बताउँदै आएको छ। मुख्यमन्त्रीले विश्वासको मत लिनुभन्दा एक दिन पहिले माओवादी गण्डकी संसदीय दलले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत नदिन ह्विप जारी गरेको थियो। तर उक्त ह्विप सांसद देवकोटाले उल्लंघन गरेको माओवादीको भनाइ छ।

ह्विप उल्लंघन गरेपछि माओवादी प्रमुख सचेतक सुशीला सिंखडाले कारबाहीका लागि सिफारिस गरेकी थिइन्।

तपाईको प्रतिक्रिया