बिहीबार १३ असार २०८१
राजनीति

बाबुरामको भर छैन, माओवादीसँग मिलेर समाजवादी मोर्चा बनाउँछौँ : महिन्द्र राय यादव

शुक्रबार असार ७, २०८१/ Friday 06-21-24

संविधान सभाबाट नयाँ संविधान बनेसँगै नयाँ ढङ्गको राजनीति सुरु गर्ने भन्दै जीवनको चार दशकभन्दा बढी ऊर्जा खर्च गरेर बनाएको पार्टी परित्याग गरेका डाक्टर बाबुराम भट्टराईले नेतृत्व गरिरहेको नेपाल समाजवादी पार्टी फेरि विभाजनको सिकार भएको छ ।

नयाँ राजनीतिक कोर्षमा अनेकौँ उतारचढाव बेहोरेको भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीकै अर्का अध्यक्ष महिन्द्र राय यादव समूहले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक घोषणा गरेपछि विभाजनको अर्को शृङ्खला सुरु भएको थियो । बाबुराम पनि सुरुमा माओवादीसँग एकताका लागि तयार थिए । त्यसका लागि केही निश्चित सर्तहरू माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राखेका थिए । जसमा उनी आफैँ राष्ट्रपति बन्न चाहन्थे । तर उनको सपना पुरा नभएको समाजवादीकै नेताहरू बताउँछन् ।

बाबुरामले हिसिला यमीलाई उपराष्ट्रपति बनाउन चाहेको दाबी गर्ने नेताहरू पनि समाजवादीमै छन् । सबैतिर असफलता ब्यहोरिसकेपछि नयाँ ढङ्गको राजनीतिक यात्रा सुरु गर्न आएका भट्टराईले पछिल्लो समयमा महिन्द्र राय यादव र गंगानारायण श्रेष्ठलाई पार्टीबाट निष्कासन गरेको सूचना निर्वाचन आयोगलाई दिए । सदस्यता नै खोसेर पार्टीबाट निकालिदिए । यस्तो अवस्थामा अबको कदम के होला ? अब कुन दलमा जाने हो त ? यिनै विषयमा केन्द्रित भएर प्रतिनिधि सभा सदस्य महिन्द्र राय यादव संचारकर्मिले  गरेको कुराकानीको सम्पादित अंश :

अहिले पनि विधानमा पार्टीको दुई अध्यक्ष भन्ने नै छ । राजनीतिक विधानअनुसार जाने हो भने बाबुराम भट्टराईले निर्वाचन आयोगमा जे कुरा गर्नु भयो, त्यो गलत हो । किनकि उहाँले चैत्र ४ गते पार्टी विघटन गरी महाधिवेशन आयोजक कमिटी बनाउनु भयो ।  हामीले चैत ६ गते केन्द्रीय कमिटीको बैठक बसेर बहुमत प्रमाणित गरिसकेका छौँ । हामीसँग अहिले पनि बहुमत छ । हामीले त्यो बैठक राखेर लिएको संसदीय समितिको हस्ताक्षर जुटाएका हौँ । यसबीचमा भट्टराई केन्द्रीय समिति विघटन गरेर महाअधिवेशन आयोजक समिति बनाउनु भयो । फेरि कमिटी हेरफेर गर्नुभयो । जसमा हामीसँग भएका २५ जना साथीहरूको नाम पुनरावेदन दिनुभयो ।

त्यसका लागि हामीले निर्वाचन आयोगमा बुझेर निवेदन दर्ता गर्छौँ । किनकि महाधिवेशन समिति उहाँले कसरी हेरफेर गर्नु भयो त ? कसले दियो त त्यो अधिकार ? अहिले पनि नेपाल समाजवादी पार्टीको हामीसँग बहुमत छ । हामी अदालत जान्छौँ । बाबुरामले गरेको काम गलत हो । एउटा राजनीतिक व्यक्तिमा इमनदारिता र नैतिकता हुन्छ । ती सबै छोडेर यो काम गर्नुभयो । गर्न नहुने काम गर्नुभयो । हामीसँग बहुमत छ तर पनि हामीले उहाँलाई पार्टीबाट निकाल्ने काम त गरेनौँ । त्यसैले हाम्रो पार्टी जीवित नै छ । यो कानूनी रूपमा व्याख्या भएको कुरा हो ।

उहाँले त जेठ १२ गते नै निर्वाचन आयोगलाई लेखेर पठाएको भन्ने छ नि ?

जेठ १६ गते उहाँले हेरफेर गर्ने निर्णय गर्नु भयो । जुन अधिकार उहाँलाई छैन । यो कुरामा त हामीलाई जानकारी हुनु पर्थ्यो । निकाल्ने, ननिकाल्ने कुनै अधिकार उहाँमा छैन । उहाँले गलत गर्नु भयो । पार्टीको संयोजक बन्नुभयो । स्वार्थपूर्ति हुँदा उहाँले फेरि हेरफेर गर्नुभयो । यसरी षड्यन्त्रको जाल बुनेर पार्टी चल्दैन ।

चैत ३ गते प्रचण्डहरूसँग पार्टी एकता गर्ने भनेर तपाईंहरूले गरेको जुन सहमति थियो, त्यसैमा अगाडि बढ्नु भएको होला नि ?

त्यो निर्णयमा हामी अहिले यथावत छौँ । त्यो सर्वसम्मत पार्टी निर्णयको कुरा हो । हामीभन्दा पनि पहिला भट्टराईले नै गोरखाको चुनावमा हामीले चुनाव चिह्न हँसिया हथौडा लियौँ, पार्टी एकता हुन्छ भन्नु भएको हो । उहाँ पछि हट्नुको कारण भनेको उहाँको स्वार्थ पुरा भएन । उहाँको स्वार्थ पुरा भएन भने एकता नगर्ने हो ? हामीले त पार्टीको निर्णय कार्यान्वयन गरेका छौँ । दुई पार्टीबीचमा साझा चुनाव चिह्न लिएर जुन ठूलो दल हुन्छ, त्यसको पार्टीको सदस्यता कायम हुन्छ ।

उहाँले हामीलाई निकाल्न निर्वाचन आयोगमा जानु भयो, सभामुखकहाँ जानु भयो । वकिलहरू लिएर जानु भयो । यस्तो नि हुन्छ त ? आफ्नै पार्टीका सांसदलाई घेर्ने, मन्त्रीलाई घेर्न जाने मान्छेलाई, उहाँभित्र वितृष्णा छ । आफू हुँदा सबै ठिक हुने अरु हुँदा उहाँलाई बेठिक लाग्ने । उहाँले जति धेरै तल झरेर यो काम गर्नु भयो, त्योभन्दा तलको मान्छे कोही हुँदैनथ्यो । उहाँलाई हामीले चिन्यौँ,  उहाँले कसलाई निकाल्ने ननिकाल्ने भन्ने होइन, हाम्रो पार्टीको एकता हुन्छ । अदालतबाट कसको पक्षमा फैसला हुन्छ, त्यही अनुसार यो कुरा अघि बढ्छ ।

बाबुरामले ८/९ वर्ष अगाडि खराब हो, बिग्रियो भनेर छाडिसकेको माओवादीसँग चुनाव चिह्न साटासाट गरेर चुनावमा जानुको पृष्ठभूमि के थियो ?

पृष्ठभूमि भनेको हामी अलग भइसकेपछि गठबन्धनमा एउटा नीति थियो । गठबन्धनमा जहाँ जसरी लड्दा सुरक्षित हुन्छ, त्यसरी निर्वाचन क्षेत्र सुरक्षा गर्ने नीति थियो । बाबुरामले पछि मलाई कम्युनिस्ट पार्टीबीच एकताको कुरा गर्नु भयो । समाजवादी नाममा पार्टी एकता गरौँ भन्नु भयो, मैले पनि ठिक छ भनेँ,  माओवादीको चुनाव चिन्ह लियौँ । पछि उहाँको स्वार्थ अनुसारको परिणाम नआएर भाग्न थाल्नु भयो । एउटै कम्युनिस्ट पार्टीबाट प्रधानमन्त्री र राष्ट्रपति त कहाँ भइन्छ र ?  अरूलाई अवसर दिनु परेन।

अब तपाईंहरू माओवादीमा गएर बाबुराम भट्टराईलाई नेपाल समाजवादी पार्टीको अवैधानिक समूह भनेर सडकमा पुर्‍याउने हो त ?

बाबुरामसँग त अब मिल्ने सम्भावना नै छैन । विधानविपरीत यस्तो काम भएको छ । राजनीतिमा नैतिकता र इमानदारिता हुन्छ तर उहाँको सबै गुम्यो । मुखमा रामराम बगलीमा छुरा जस्तो भयो उहाँको व्यवहार र नेतृत्व। सत्य निरूपण तथा मेलमिलाप आयोगबारे माओवादीले उठाएका मुद्दाहरू जुन हामीले उठाइरहेका छौँ, तर उहाँले यो कुरालाई लावारिस छोड्नु भएको छ । उहाँले नैतिकता गुमाइसक्नुभयो ।

गण्डकी प्रदेशमा तपाईंहरूका सांसद फणीन्द्र देवकोटा निलम्बित हुनुहुन्छ । अब त्यहाँ के हुन्छ ?

नैतिकताका आधारमा त्यहाँको सांसद नेकपा माओवादीको सदस्यका हैसियतमा रहन्छ त्यहीअनुसार बस्नु पर्छ । यो कुरा बाबुरामजीले बुझेकै हो । अदालत, वकिल सबै बुझेको मान्छेले सांसदलाई यत्रो घटना गराउन उकास्नु भयो । बाबुरामजीकै कारणले देवकोटाजी कारबाहीमा पर्नु भयो । एउटा सांसदलाई कारबाहीको प्रक्रियामा लिएर जानु भयो, त्यो गर्नु हुँदैनथ्यो ।

हामी त अहिले पनि नियम कानूनअनुसार उहाँ नेकपा माओवादीको सदस्य नै हो भनिरहेका छौँ । उहाँले सत्ता स्वार्थका लागि जुन प्रकारको उथलपुथल गर्नु भयो त्यो ठिक छैन । बाबुरामजी कै इशारामा त्यो गर्नु भएको हो । अहिले सरकारको स्थिरताको कुरामा उहाँको भोट महत्त्वपूर्ण छ ।

अब तपाईंको राजनीतिक भविष्य कता हो ?

हाम्रो कित्ता स्पष्ट छ, माओवादी दलको सांसदको हैसियतले अघि बढ्ने हो । एकतामा जाने सही गरिसकेपछि नेकपा कम्युनिस्ट पार्टी समाजवादी नाम राखरे चुनाव चिह्न परिवर्तन गरेर मधेशको मुद्दालाई अगाडि सार्ने । माओवादी र मधेशको मुद्दा अहिले पनि हेर्न मिल्छ । त्यस कारण अधुरो संविधानलाई पूर्णता दिन माओवादी नै यो देशको रूपान्तरण र परिवर्तनकारी शक्ति हो । यसैले संविधानको रक्षा गर्छ । त्यो विषयको आधारमा नेकपा माओवादीसँग तीन बुँदे सहमति भइसकेको छ ।

त्यसैले नेकपा माओवादीसँग समाजवादी मोर्चा बन्छ । त्यो मोर्चामा अन्य घटकहरू पनि आउने सम्भावना छ । त्यसपछि त्यहीबाट हामीले पार्टी एकताको प्रक्रिया अगाडि बढाउँछौँ । यो मोर्चामा बाबुरामलाई नलिनुको कारण उनी अस्थिर मान्छे हुन् । उनले कुनै संगठन र मोर्चालाई स्थिर हुन दिँदैनन् । र, अब उनीसँग कुनै भविष्य छैन, माओवादीसँगै भविष्य छ ।

अब तपाईंले त्यही अध्यक्षको हैसियतमा निर्वाचन आयोगमा प्रक्रिया अगाडि बढाउने हो ?

हो, विधानमा नै यही उल्लेख गरिएको छ । हाम्रो सांसद पद जनताले दिएको हो । नेकपा माओवादीसँग हाम्रो एकता हुन्छ ।

अब फणीन्द्र देवकोटाको राजनीतिक भविष्य कसरी जोगाइदिनु हुन्छ ?

उहाँले नेकपा माओवादी केन्द्र संसदीय दलको विधि विधानअनुसार बस्नु भए जोगिन्छ । त्यो उहाँकै हातमा छ ।

तपाईंहरूको निकटता फेरि मन्त्री बन्न मात्रै त होइन नि ?
होइन, पहिला पनि हामीले केही भनेनौँ, अहिले पनि माओवादीले प्रधानमन्त्रीले तय गर्ने हो । हामी स्थिर सरकार होस्, नेपाली जनताले संविधानमा उल्लेखित हक-अधिकार मिलुन् भन्ने पक्षमै छौँ ।

तपाईको प्रतिक्रिया