शनिबार १२ असोज २०८१
समाज

२ करोड ७१ लाख रुपैयाँबराबरको भेपसहित पाँच जना पक्राउ

शुक्रबार असार ७, २०८१/ Friday 06-21-24

मकवानपुर। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध रूपमा भारतर्फ लैजाँदै गरेको ५८ कार्टुन भेप (इलेक्ट्रिक चुरोट) सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बिहीबार साँझ काठमाडौंबाट हेटौडाहुँदै भारतको दिल्लीतर्फ जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रु बाहक बसमा दुई करोड ७१ लाख २१ हजार ७ सय ८० मुल्य बराबरको अवैध भेप तथा भेपको फ्लेवर फेला परेको मकवानपुरका एसपी सिताराम रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बस चालक दोलखा भिमेश्वर नगरपालिका–२ बस्ने ३७ वर्षीय सलाम मोक्तान, सहचालक उदयपुर कटारी नगरपालिका–११ बस्ने २७ वर्षीय प्रबिन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३९ वर्षीय इन्द्रबहादुर दर्जी, सोही ठाउँका ३० वर्षीय सन्तोष भुसाल र धनकुटा बेलारा नगरपालिका वडा नम्बर–१६ बस्ने २९ वर्षीय राजकुमार हिमाङ रहेका छन् । 

बसमा भारत जाने यात्रुसमेत रहेको र बस भारत नेपाल ओहोरदोहोर गर्ने नभइ अवैध भेप तस्करीकै लागि भाडामा लिएर प्रयोग गरेको अनुसधानबाट खुलेको एसपी रिजालले बताए । यात्रु बस्ने सिटमाथि सिलिङको भागमा फल्सबटम बनाएर भेप लुकाएर राखेको प्रहरीले जनाएको छ ।

प्रहरीले बससहित पक्राउ परेका पाँचैजनालाई थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया