आइतबार २३ भदौ २०८१
जीवनशैली

देशभर १० जनामा हैजा : सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

शनिबार श्रावण १२, २०८१/ Saturday 07-27-24

काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले देशभर १० जनामा हैजा संक्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीनजनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी दिए ।

उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले भने, “हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ । ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो, ढलबाट मिसिएको हुनसक्छ । शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ, त्यसले पनि भर पर्छ । हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ ।”

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अतिसंक्रामक झाडापखालासम्बन्धी रोग हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, “हैजाका जीवाणु संक्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ ।”

हैजा संक्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षण देखापर्छ । हैजा संक्रमण भए र उपचार नपाए केही घण्टामै संक्रमितको मृत्यु पनि हुन सक्ने विज्ञ बताउँछन् ।

डा. पुनका अनुसार, यसका मुख्य लक्षणमा पातलो तथा चौलानीपानीजस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ । कडा लक्षण देखिएमा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, तिर्खा लाग्ने, छाला सुक्खा, रक्तचाप कम, पिसाब पहेँलो र पिसाबको मात्रा कम हुने हुन्छ ।

डा. पुन मुख्यतः तीन विषयमा ध्यान दिन सके हैजा नियन्त्रणमा राख्न सकिने बताउँछन् । पहिलो, सुरक्षित पानी, व्यक्तिगत सरसफाइ र अनुगमन । सबैभन्दा महत्त्वपूर्ण पाटो सफा र स्वच्छ पानी सेवन गर्नुपर्ने उनी बताउँछन् ।

“हैजा दूषित पानीबाट एकदमै सहज र सरल तरिकाले फैलिने गर्दछ । धाराको पानी मान्छेले उमालेर वा फिल्टर गरेर खान्छन्, तर जारको पानी धेरैले त्यसो गर्दैनन्,” उनले भने, “किनेको पानी पिउनयोग्य नै छ भनेर सिधै खाइन्छ । विद्यालयदेखि लिएर कार्यालयदेखि लिएर सार्वजनिकस्थलमा जारको पानी राख्ने चलन छ । कतिपय व्यवसायीहरूले प्रशोधित नै नगरेका पानी बजारमा पठाउँदा रहेछन्, जसले गर्दा हैजाको संक्रमण फैलिन्छ ।”

व्यक्तिगत सरसफाइ व्यवहारमा लागु भएको नदेखिएको उनी बताउँछन् । “शौचालयको व्यवस्थापन राम्रो हुनुपर्छ । शौचालयको व्यवस्थापन कमजोर हुँदा हैजालगायत पानीजन्य रोगहरू फैलिन सक्छ । दिसामा रहेका जीवाणुहरू कुनै कारणले गर्दा बगेर फेरि हाम्रो खानेपानीमा आइपुग्छ । शौचालयको प्रयोग गरेपछि साबुनपानीले मिचीमिची हात धुन जरुरी छ,” उनले भने ।

डा. पुन कतिपय व्यापारीले प्रशोधन नै नगरी पानी बजारमा ल्याइदिँदा मानिस बिरामी हुने भएकाले सम्बन्धित निकायले नियमित अनुगमनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्छन् । उनी भन्छन्, “अनुगमन कडाइका साथ गर्ने हो धेरै हदसम्म नियन्त्रणमा आउँछ । किनभने, विकसित देशमा पानीजन्य रोगहरू अत्यधिक कम छ ।”

हैजालगायत पानीजन्य रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी पिउने, खानेकुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनुअघि र खाना खानु वा खुवाउनुअघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नुअघि, बाहिर सामान छोएपछि साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म मिचीमिची हात धुनुपर्ने विज्ञको सुझाव छ । रासस

तपाईको प्रतिक्रिया