बुधबार २ माघ २०८१
प्रविधी

टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी

मंगलबार भदौ ४, २०८१/ Tuesday 08-20-24

काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका शर्तहरुको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो ।

टिकटक बन्द भएदेखि नै चिनियाँ पक्षले खुलाउनका लागि पहल गर्दै आएको थियो। प्रधानमन्त्री ओलीले मातहतका निकायलाई टिकटक खोल्न निर्देशन दिइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ। केही दिनमै टिकटक खुल्ने बताइएको छ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०८० कात्तिक २७ गते टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको थियो। टिकटक प्रतिबन्धपछि दाहालको आलोचना भएपछि उनले एमाले अध्यक्ष केपी शर्मा ओली समेतको सहमतिमा बन्द गरिएको बताएका थिए। उनले टिकटक प्रतिबन्धमा कांग्रेस सभापति शेरबहादुर देउवाको पनि सहमति रहेको बताएका थिए।

चीन सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउन पटक–पटक विभिन्न तहबाट दबाब दिदै आएको छ । सञ्चार मन्त्रालय स्रोतले टिकटकले लिखित प्रतिबद्धता जनाएपनि यसको नियमन कसरी गर्ने भन्ने विषय छलफलमा रहेको बताएको छ ।

टिकटकमा प्रतिबन्ध लगाउदा तत्कालीन प्रधानमन्त्री प्रचण्डले कांग्रेस एमालेलाई विश्वासमा लिएर गरेका कारण अहिले फुकुवा गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र माओवादी केन्द्रलाई समेत विश्वासमा लिनुपर्ने समेत बताइएको छ । 

तपाईको प्रतिक्रिया