बिहीबार ३ असोज २०८१
राजनीति

रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको छानबिन समितिको ठहर

सोमबार भदौ ३१, २०८१/ Monday 09-16-24

काठमाडौं । सहकारी संस्थाको बचत अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको संलग्नता पुष्टि भएको निष्कर्षमा संसदीय विशेष छानबिन समिति पुगेको छ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन आज बुझाउने तयारी गरेको छ ।

समितिका सदस्य लेखनाथ दाहालका अनुसार सहकारीको रकम जीबी राईले गोर्खा मिडिया नेटवर्कमा पुर्‍याउने काम गरेका थिए । तर त्यसरी आएको रकम भने रवि मार्फत खर्च भएको छ । गोर्खा मिडियामा जीबी राई अध्यक्ष र रवि प्रबन्ध निर्देशक थिए ।

गोर्खा मिडियाका तीन सञ्चालक (जीबी, रवि र छविराज जोशी)ले संयुक्त खाता खोलेका थिए । तर रवि प्रबन्ध निर्देशक रहेको १४ महिनाको अवधिमा एउटा चेक बाहेक सबैमा रवि लामिछानेले नै हस्ताक्षर गरेको पाइएको छ ।

समिति सदस्य लेखनाथ दाहाल भन्छन्, ‘गोर्खा नेटवर्क प्रालि मार्फत भएको अपचलनमा उहाँको संलग्नता देखियो । त्यसकारण उहाँलाई कानुनसम्मत कारबाही गर्न लेखिपठाउने सहमति भएको छ ।’

दुई महिना लगाएर प्रतिवेदन लेखेको समितिले जम्मा दुई हजार पृष्ठको प्रतिवेदन तयार पारेको छ । दाहालका अनुसार सोधपुछ, बयान, अनुसन्धान र लेखन पछिल्लो एक महिना सँगसँगै चलेको थियो ।

त्यसपछि छलफल गर्दै जाँदा रास्वपा सभापति लामिछानेले तत्कालीन गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशकका रुपमा खर्च गरेको सहकारीको रकमबारे समिति सदस्यहरु एकमत भएर निष्कर्षमा पुगेका थिए ।

समितिले गोर्खा मिडियामा रविले लिएको १५ प्रतिशत (स्वेट) शेयरलाई गैरकानुनी भनेको छ । त्यो शेयर गैरकानुनी हुँदाहुँदै रविले किन लिए भन्ने प्रश्न समेत प्रतिवेदनमा उठाइएको छ ।

समितिले लामिछानेले गरेको गैरकानुनी सेयर किनबेचसहितका कामबाट सहकारीको बचत अपचलन भएको पनि समितिको निष्कर्ष छ । “गैरकानुनी ढंगले नै कम्पनीमा सेयर किन्ने, सेयर बेच्ने र अरू गतिविधिमा पनि उहाँको संलग्नता देखिएकाले कानुनी कारबाहीका निम्ति सिफारिस गर्ने भन्ने विषयमा हामी सहमत छौँ,” दाहालले भने ।

तपाईको प्रतिक्रिया