काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज भलिबल प्रतियोगिता एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) २०२४ आजदेखि सुरु हुँदैछ ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा असोज १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहभागी छन् ।
मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थण्डर्स र कर्णाली यस्विस गरी ६ फ्रेन्चाईज टिमले प्रथिस्पर्धा गर्न लागेका हुन् ।
उद्घाटन खेलमा उपत्यकाका दुई टिम काठमाडौं स्पाइकर्स र ललितपुर क्विन्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । त्यसअघि दिउँसो साढे २ बजे उद्घाटन समारोह हुनेछ । आजै साँज ५ : ४५ बजे मधेश युनाइटेड र कर्णाली यस्विस तथा बेलुका ७ : ४५ बजे चितवन शक्ति र गण्डकी थण्डर्सबीच खेल हुनेछ ।
फ्रेन्चाइज लिगको मुख्य विशेषता भनेको यसमा सबैले नाम चलेका चर्चित खेलाडीहरू टिममा राख्छन् । यसपटक सहभागी ६ वटै टोलीले ३-३ विदेशी खेलाडी टिममा राखेका छन् । जसले गर्दा लिगको चर्चा नेपालदेखि विदेशसम्म पनि उत्तिकै छ ।
हरेक टोलीमा १२ खेलाडी हुनेछ । जसमा हरेक टोलीले ट्यालेन्ट हन्टबाट १-१ खेलाडी टिममा समावेश गरेका छन् ।
६ टिममा गरेर कुल १८ विदेशी खेलाडीले पहिलो संस्करणको एभरेष्ट महिला लिग खेल्दैछन् । खेलाडीहरूको वर्गीकरणसहित निश्चित रकममा खेलाडीलाई टिमहरुले अनुबन्ध गरेका छन् ।
सहभागी टिमका कप्तान र प्रशिक्षकले फ्रेन्चाइज लिग खेल्न र विदेशी खेलाडीसँगै एक साथ खेल्न उत्साहित रहेको बताएका छन् ।
पहिलो संस्करण भएकोले यो लिग कस्तो होला, खेल कस्तो होला, विदेशी खेलाडीहरू कस्तो खेल्लान् अनि कुन टिमले राम्रो खेल्ला, कसको विदेशी खेलाडी राम्रो होला भनेर लिगअघि चासोको विषय छ ।
तयारीका लागि थोरै समय पाएकोले टिमहरुले आफ्नो टिमको कम्बिनेसन राम्रोसँग बनाउन पाएका छैनन् । तर, प्राप्त समयमा टिमले नेपाली र विदेशी खेलाडी मिलाएर अभ्यास गरेका छन् ।
धेरै टिमले तीन विदेशी खेलाडीलाई सेटमै खेलाउनेछन् । विदेशी खेलाडीहरुको उचाइ अग्लो हुँदा उनीहरूलाई फाइदा पुग्नेछ ।
तपाईको प्रतिक्रिया