Skip This
शुक्रबार १९ पौष २०८१
राजनीति

पार्टी खोल्ने तयारीमा रहेका रावलले भेटे कर्ण मल्ल र तारा जोशी

सोमबार पौष १५, २०८१/ Monday 12-30-24

काठमाडौं । नेकपा (एमाले) को संगठित सदस्यबाट निस्कासित भएका भीम रावलले पार्टी खोल्ने तयारी गरेका छन्।

रावलले काठमाडौंस्थित निवासमै सोमबार सुदूरपश्चिमका नेताहरूसँग भेटघाट गरेका छन्।

नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँग छलफल गरेका हुन्।

कांग्रेस डडेल्धुरा सभापति हुँदा मल्ल र सभापति शेरबहादुर देउवाबीच सम्बन्ध बिग्रेको थियो। कांग्रेसले २०७९ वैशाख १३ गते मल्ललाई पार्टीबाट निकालेको थियो।

स्थानीय तह निर्वाचन २०७९ मा डडेल्धुराका स्थानीय तहमा कांग्रेसका विरूद्ध स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गराउन लगाएको आरोपमा कांग्रेसले मल्ललाई पार्टीबाटै निकालेको थियो।

रावलले पुस १७ गते पत्रकार सम्मेलन गरी केही कुरा राख्ने र त्यसपछि नयाँ ढंगले अघि बढ्न सकिने उनको भनाइ छ।

रावलसँग भेटेका सुदूरपश्चिमका स्वतन्त्र सांसद तारा जोशीले पनि प्रारम्भिक कुराकानीमात्रै भएको बताए।

जोशी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य थिए। डडेल्धुराका उनी त्यसअघि एमाले नेता थिए। एकीकृत समाजवादीले प्रदेश सभा सदस्यको टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

पुस १० गते बसेको नेकपा (एमाले) को सचिवालय बैठकले पूर्वउपाध्यक्ष रावललाई पार्टीको संगठित सदस्यबाट निस्कासन गर्ने निर्णय गरेको थियो।

त्यसपछि रावलले नयाँ पार्टी खोल्नेबारे छलफल गरिरहेका छन्। उनले देश दौडाह गर्ने र पार्टी खोल्ने तयारी गरेका छन्।

तपाईको प्रतिक्रिया