काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि गरिएको छ । सोमबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनलाई छोराहरूले दागबत्ती दिएका छन्। लगत्तै नेपाली सेनाको एक टुकडीले शोकधुन बजाएको थियो।
उनको अन्तिम बिदाइमा पशुपति आर्यघाटमा मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकारी,सुरक्षा निकायका प्रमुख, नेता(कार्यकर्ता,शुभेच्छुक तथा सर्वसाधारणको भीड लागेको थियो।
अन्तयेष्टि अघि ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा रािखएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु त्यहाँ पुगेर ढुङ्गानाप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको थियो ।
तपाईको प्रतिक्रिया