चितवन । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो ।
चितवन जिल्ला अदालतमा सोमबार नै मुद्दा दर्ताको तयारी थियो तर सरकारी वकिलहरूको कार्य व्यस्तताका कारण आज (मंगलबार) दर्ता गरिएको हो ।
सरकारी वकिल कार्यालयले लामिछानेसहित थप १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गरेको हो ।
चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि ढाँचा र तथ्यतथ्यांक नमिलेको भन्दै पुनः अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न प्रतिवेदनको फाइल प्रहरीलाई फर्काएको थियो । त्यसको केही दिनपछि प्रहरीले प्रक्रिया मिलाएर सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो । त्यसको अध्ययन सकेर आज (मंगलबार) सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।
सरकारी वकिलको कार्यालयले जिबी राईलगायत १७ जनाविरूद्ध सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा गत असोजमै अदालतमा मुद्दा दायर गरिसकेको थियो।
सहकारी संस्थाको वचत रकम अपचलन गरेको जाहेरीमा प्रहरीले दिएको पुरक अनुसन्धान प्रतिवेदन अध्ययन गरी रवि सहितलाई ठगी कसुरमा पूरक मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता शान्तिराज लुइँटेलले जानकारी दिए।
उनका अनुसार ३२ जना प्रतिवादीहरूमध्ये १२ जनालाई ठगीसँगै संगठित अपराध कसुरमा पनि मुद्दा दायर गर्न पेस गरिएको हो।
साहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ। लामिछाने र छविलाल जोशी गोरखा मिडियाका सञ्चालक हुन्। अन्य जिबी राईले सञ्चालन गरेका विभिन्न कम्पनी, तिनका सञ्चालक तथा शेयरधनी हुन्।
पूरक मुद्दामा लामिछाने, जोशी सहित रामबहादुर खनाल, रविना रिमाल, विशाल तमाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्धिकी, भगवती बोमजोन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठलाई प्रतिवादी बनाइएको छ। साथै आर्थिक लेनदेन देखिएका ६ वटा कम्पनीलाई पनि मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको थियो।
तपाईको प्रतिक्रिया