बिहीबार २९ फाल्गुण २०८१
समाज

काठमाडौँ उपत्यकाको १ सय २१ ठाउँमा चेकिङ

बिहीबार फाल्गुण २९, २०८१/ Thursday 03-13-25

काठमाडौं । काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रमा बिहीबार रङको पर्व होली मनाइँदै छ । उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागु गरेको छ ।

बिहीबार बिहानैदेखि उपत्यकामा चेकजाँच सुरु गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । उपत्यकामा ट्राफिक र स्थानीय प्रहरीले १ सय २१ ठाउँमा चेकजाँच गर्नेछन् ।

सवारीसाधन चलाउनेहरुले मादक पदार्थ सेवन गरेको र लागुपदार्थ सेवन गरेको चेकजाँच गरिने बताइन् । ३ वटा जिल्लाका १५५ ठाउँमा पिकेट ड्युटीका लागी प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ । पिकेट ड्युटीमा खटिने प्रहरीले आफ्नो क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिबारे निगरानी र गस्ती गर्छन् ।

इच्छाविपरीत लोला हान्नेहरूलाई नियन्त्रणमा लिन र निगरानी गर्न सादा पोसाकमा प्रहरी परिचालन छ । दुईपांग्रे सवारी चालकले हेलमेट नलगाएको र ३ जना चढेको भेटिए कारबाही गरिने प्रहरीको योजना  छ । 

होलीको सुरक्षाका लागी काठमाडौँ जिल्लामा मात्रै २ हजार भन्दाबढी प्रहरी परिचालन हुनेछन् । काठमाडौँको ३ सयभन्दा बढी स्थानमा प्रहरीको उपस्थिति रहने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया