भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालन गर्न सरकारले पहल बढाउनुपर्छ : सांसद आचार्य

काठमाडौँ । प्रतिनिधिसभा सदस्य भीमप्रसाद आचार्यले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनका लागि सरकारले पहल बढाउनुपर्ने बताएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विमानस्थललाई नियमित सञ्चालन गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले विमानस्थल सञ्चालनका लागि व्यवसायीहरूले आन्दोलन गरिरहेको भन्दै सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिएका छन्।
उनले म्यानपावर कम्पनी, स्वास्थ्य जाँच गर्ने कार्यालय, भिसा सहजीकरण कार्यालय लगायतका अत्यावश्यक सरकारी निकाय स्थापना गर्नुपर्ने बताए। व्यवसायीहरू विमानस्थल नचल्दा मर्कामा परेको र उनीहरूले क्षतिपूर्ति समेत माग गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले कपिलवस्तुको तिलौराकोट उत्खनन, पुनर्निर्माण र संरक्षणको पर्खाइमा रहेको हुँदा त्यसका लागि थप जग्गा अधिग्रहण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। वार्षिक डेढ लाख पर्यटक पुग्ने तिलौराकोटमा व्यवस्था कमजोर रहेको गुनासो गरेका छन्।
तपाईको प्रतिक्रिया