
काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १८० भन्दा बढी देश र क्षेत्रहरुमा पारस्परिक भन्सार दरहरु लागू गर्ने बताएपछि कच्चा तेलको भाउमा भारी गिरावट आएको छ ।
भन्सार दरका कारण विश्वको पेट्रोलियम बजार तरंगित बनेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ६० अमेरिकी डलरमा आएको छ । सोमबार डब्ल्यूटीआई क्रुडमा कच्चा तेलको भाउ घटेर ब्यारेलको ६०.६४ डलर कायम भएको छ ।
यस्तै, ब्रेन्ट क्रुडमा ब्यारेलको ६४.१७ र मेरवान क्रुडमा ब्यारेलको ६६ डलरमा कच्चा तेलको कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ ।
गएको शनिबारदेखि राष्ट्रपति ट्रम्पले भन्सार शुल्क लगाइसकेका छन् । राष्ट्रपति ट्रम्पले मुलुकअनुसार न्यूनतम १० देखि ५० प्रतिशतसम्म भन्सार दर लगाएका छन् ।
नयाँ भन्सार दर लागु भएपछि यो हप्ता तेलको मूल्य १० प्रतिशतभन्दा बढी घटेको छ । विश्वव्यापी तेलको मूल्यमा एकैदिनमा ७ प्रतिशतभन्दा बढीको गिरावट आएको छ । ट्रम्पको नयाँ भन्सार दरले विश्वभर ठूलो व्यापार युद्ध आउने भएपछि यसको असर कच्चा तेलको मागमा परेको बताइएको छ ।
तपाईको प्रतिक्रिया